शुक्रवार रातिबाट देशभर भीषण वर्षा भइरहेको छ । मधेस प्रदेशमा केही दिन अघिसम्म पानी परेको थिएन । गर्मीका कारण जनजीवन याकुलव्याकुल नै थियो तर शुक्रवारबाट परेको वर्षाले भने फेरि पनि धनजनको क्षति गरेको छ ।
मधेसमा संधै उही एउटै डुबानको समस्या देखिएको छ । मधेसमा बाढी र पहिरोभन्दा पनि डुबानको समस्या अधिक देखिन्छ । वीरगञ्ज, जनकपुर, कलैया लगायतका मधेसका मुख्य शरहरुमा यतिबेला बाढीले डुबानको समस्या सृजना गरेको छ । यस क्षेत्रका धेरै जनताको घर यतिबेला पानीले डुबेको छ र उनीहरु आवागमनसंगै गाँस, बाँसको पनि समस्यामा छन । हरेक वर्ष जब वर्षा शुरु हुन्छ तब मधेस सहित यस आसपासका नागरिकहरुले यस्तो समस्या झेल्नु पर्ने गरेको छ ।

हुन त यस्तो समस्या देखिनुमा केही हदसम्म स्थानीयहरुको पनि दोष छ । निकासको व्यवस्था नगरिकन जथाभावी घर, सडक र अन्य संरचना बनाइदा पनि यो समस्याले विकराल रुप लिएको हो । पहिरोका कारण वा बाढीले बगाएर सामान्यतया मधेसमा मानवीय क्षति त भएको खासै सुनिदैन तर डुबानका कारण भने मानवीय क्षति भइरहेको छ । भर्खरै मात्र जनकपुरमा डुबेर तीन बालिकाहरुको मृत्यु भएको छ । यस्ता घटना झट्ट सुन्दा सामान्य जस्तो लागे पनि यसकै कारण मधेसमा मानवीय क्षति हुने गरेको छ ।

यसको नियन्त्रणका लागि केवल सरकारको मुख मात्रै ताकेर चैं हुदैन । स्थानीय आफैले पनि सचेतना अपनाउन जरुरी छ । योसंगै समस्या हल गर्न सरकारहरुले गर्ने काम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तीन तहका सरकार अनि मधेस सरकारले निकासको उचित व्यवस्थापनका लागि रकम खर्च गर्न आवश्यक छ । खर्च गरेको पनि देखिन्छ तर परिणाम खासै आएको छैन । त्यसैले संधै उही डुबानको समस्या यहाँ छ ।

 

Leave a Reply