रौतहट,रौतहटमा शनिवार बिहान यात्रुवाहक बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना. ७ ख . ८४१४ नम्बरको यात्रुवाहक बस जिल्लाको जयनगर चोकमा अनियन्त्रित भई पल्टिँदा दश जना घाइते भएका हुन् ।बस पल्टिएर माधवनारायण नगरपालिका– ३ भेलही गाउँकी १८ वर्षीय नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परोहा नपा– ३ तेजापाकडका देवंशकुमार दास, गौर नपा– ४ का राकेश चन्द्रवंशी घाइते भएका छन् । यसैगरी सोही स्थानकी वर्ष ५ की शिवानीकुमारी तथा वर्ष १ की मधुकुमारी पनि घाइते भएका छन् ।
बिहारको मधुवनी बासोपटिका ४७ वर्षीय अविनाश झा उहाँकी पत्नी निकी झा, र ६५ वर्षीय सुधाना झा घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार चालक फरार रहेको र खोजी कार्य भइरहेको छ । बस निकै पुरानो भएको कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।



















