रौतहट,रौतहटको कटहरिया नगरपालिकामा एक दलित समुदायकी पूर्व वडा सदस्य महिलामाथि बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गरिएको घटना सार्वजनिक भएको छ ।
कटहरिया नगरपालिका वडा नम्बर ९ की ५५ वर्षीया अंकलियादेवी मुसहरिनलाई शनिबार साँझ स्थानीय केही व्यक्तिहरूले बलपूर्वक मानव मलमूत्र खुवाएको आरोप छ ।
पीडितकी छिमेकी पुकार माझीका छोराको विवाहका क्रममा एक १० वर्षीय बालक बिरामी भई उल्टी गरेपछि मुसहरिनमाथि जादूटुना गरेर बालकलाई बिरामी पु¥याउन खोजेको आरोप लगाउँदै १५–२० जनाको समूहले उनीमाथि दुव्र्यवहार गरेको पीडित परिवारले जनाएको छ ।
पीडितकी छोरी सुमिलादेवीका अनुसार साँझ करिब ७ बजे घरमा आमा–छोरी मात्र रहेका बेला समूह घरभित्र पसेर अंकलियादेवीको हात, शरीर र टाउको समातेर बियरको बोतलमा ल्याइएको मलमूत्र जबरजस्ती खुवाइएको थियो । विरोध गर्दा कुटपिटसमेत गरिएको उहाँले बताउनुभयो ।
घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी सहायक निरीक्षक मोहन आले मगरको नेतृत्वमा पुगेको टोलीले पीडितको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो । अचेत अवस्थामा रहेकी महिलाको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आरोपीहरूलाई पक्राउ गर्न जाँदा स्थानीय बासिन्दाले प्रहरीमाथि समेत आक्रमण गर्ने प्रयास गरेका थिए । हाल पीडितलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ भने आरोपीहरूको खोजी भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनाको अनुसन्धान तीव्र बनाइएको र दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने बताउनुभएको छ ।
















