निजगढ,बारामा प्रहरीले अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई निरन्तरता दिएको छ । एक महिनाअघिबाट सुरु गरिएको गाँजा खेती फडानी अभियानअन्तर्गत प्रहरीले मंगलवार निजगढमा १ बिघा क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको छ । प्रहरीले गाँजाको बोट फडानीपछि आगो लगाएर नष्ट पारेको हो ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ नगरपालिकाको वडा नम्बर १२ र १३ का विभिन्न स्थानमा लगाइएको १ बिघा क्षेत्रको गाँजा मंगलवार फडानी गरी नष्ट गरेको छ ।प्रहरीले मंगलवार मात्रै वडा नम्बर १२ को भक्तलालमा ८ कठ्ठा र वडा नम्बर १३ को डम्बरपुरमा १२ कठ्ठा क्षेत्रमा लगाइएको करिव ९ हजार गाँजा बोट फडानी गरेर नष्ट पारेको छ ।यसअघि पनि प्रहरीले उक्त क्षेत्रबाट करिव बिघा क्षेत्रमा लगाएको गाँजा फडानी गरी नष्ट पारेको थियो ।निजगढको रतनपुर क्षेत्रका विभिन्न ठाउँहरूमा गाँजा खेती भइरहेको छ । अवैधरूपमा गाँजाखेती फस्टाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको र अन्य ठाउँमा पनि गाँजा फँडानीलाई निरन्तरता दिइने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले दिएको जानकारीअनुसार प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारबाही गरिने बताइएको छ ।त्यसैगरी पर्सा प्रहरीले लागुऔषध गाँजा फँडानी अभियानका क्रममा नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।अभियानअन्तर्गत अहिलेसम्म जिल्लाको विभिन्न ठाउँमा झन्डै नौ हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका– ३ रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका–४ र ५ देउरिया र डेकुलीमा स्थानीयवासीले अवैधरूपमा लगाएका छ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो ।इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय ठोरी, इलाका प्रहरी कार्यालय औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीयवासीले झन्डै ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले जानकारी दिनुभयो ।यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका– ३ झबराहामा झन्डै डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा झन्डै १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरेको थियो .।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले ठोरी गाउँपालिका–३ र ४ मा स्थानीयवासीले १० कट्ठा खेतमा अवैधरूपमा लगाएका गाँजा र जिराभवानी गाउँपालिका–१ मा छ कट्ठा एक धुर जग्गामा लगाएको गाँजाको बोट फँडानी गरी नष्ट गरेको थियो ।

Leave a Reply