काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।उहाँहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।यस्तै प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको छ । राष्ट्रपति वाइडेनले न्यूयोर्कको मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आयोजना गर्नुभएको समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन गएका विश्वका विभिन्न देशका राष्ट्र एवम् सरकार प्रमुख सहभागी थिए ।प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


















