कलैया,बाराको कलैयास्थित रामराजा मोहनविक्रम बहुमुखी क्याम्पसका प्रमुख ५० वर्षीय हरिभूषण कुशवाहाको हत्या आरोपमा पक्राउ परेका ७ जनामाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । पक्राउ पर्ने मध्ये ५ जना क्याम्पस प्रमुख कुशवाहाकै गाउँका बासिन्दा रहेका छन ।
प्रहरीले आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरियाका ३२ वर्षीय अवधलाप्रसाद कुशवाहा, २९ वर्षीय चांदसीप्रसाद कुशवाहा, ३४ वर्षीय राधेसकुमार पटेल, ५४ वर्षीय विनोद राउत कुर्मी, बतराका २७ वर्षीय श्रवणकुमार साह, कलैया उपमहानगरपालिका १० मटिअर्वाका ५० वर्षीय ब्रम्हदेव राम र करैयामाई गाउँपालिका ७ पिपरा टोलका ५० वर्षीय मोतिलाल चौधरीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।
पक्राउ परेकाहरुमाथि हातहतियार खरखजानासम्बनिध मुद्दाअन्तर्गत सम्मानित बारा जिल्ला अदालतबाट मंगलवारबाट लागु हुने गरी दिन ६ (छ) को म्याद थप लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । सो घटनामा संलग्न अन्य फरार रहेका प्रतिवादीहरुको खोजी जारी रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।आदर्श कोतवाल गाँउपालिका ३ बतरा टोलमा जेठ ३२ गते क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो । प्रवक्ता न्यौपानेका अनुसार हालसम्मको अनुसन्धानका क्रममा घटनाको कारण घरायसी विवाद देखिएको र पक्राउ परेका व्यक्तिबाट घटनाको कारण र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गर्ने काम भइरहेको छ ।प्रहरीले सोही घटनामा प्रयोग गरिएका तीन वटा मोटरसाइकल, ६ राउण्ड गोली, मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम बरामद गरेको पनि जनाएको छ ।

















