निजगढ,सुख्खा याम शुरुभएसँगै निजगढ नगरपालिका ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले डढेलो नियन्त्रण गर्न वनमा पालो पहरा दिन थालेका छन ।वन समूहका उपभोक्ताहरुले सुख्खायाममा डढेलोको जोखिम बढ्ने हुदाँ विगतका वर्षहरुजस्तै यस वर्ष पनि चैत्र १ गतेबाट सामुदायिक वन क्षेत्रभित्र पालो पहरा शुरु गरेका हुन । समूहले तयार पारेको आलोपालो प्रणालीअनुसार उपभोक्ताहरुले आफ्नो पालो अनुसार उपस्थित भएर वनमा पहरा दिन थालेको वन समूहका अध्यक्ष खडकबहादुर मोक्तानले बताउनुभयो ।

उपभोक्ताहरुलाई सुख्खायामको चैत्र महिनाको शुरुदेखि जेष्ठ मसान्तसम्म डढेलो नियन्त्रणको लागि खटाइने अध्यक्ष मोक्तानको भनाई छ । ‘दैनिक १५ जनालाई आलोपालो गरेर गरेर वनमा खटाइएको छ, उहाँले भन्नुभयो, उपभोक्ताहरुले डढेलोको जोखिम रहेको क्षेत्रमा निगरानी गर्ने र वनमा आगो लाग्न नदिनुको साथै अग्नीपथको झाडी र पतकर हटाएर सफा गर्ने गरेका छन ।’वन समितिले यसअघि अघिल्ला वर्षहरुमा पनि सुख्खायाममा वन डढेलो नियन्त्रण गर्न उपभोक्तामार्फत समूहको वन क्षेत्रमा पालो पहरा गर्ने व्यवस्था मिलाउदैआएको थियो ।
उपभोक्ताहरुले दिनहुँ दिने पहराका कारण सो वन समूहको जंगलमा अहिलेसम्म डढेलो लाग्न नपाएको अध्यक्ष मोक्तानको भनाई छ । ‘वन कार्यालयबाट हस्तान्तरण गरेर लिएदेखि अहिलेसम्म आगलागी र डढेलो लाग्न पाएको छैन, अध्यक्ष मोक्तानले बताउनुभयो, उपभोक्ताहरुको प्रयासमा वनमा डढेलो रोकिनुको साथै वन संरक्षण भएको हो ।’४५९ जना उपभोक्ता सदस्य रहेको सो समूहले ३८७ हेक्टर क्षेत्रफलको वन ०६५ सालदेखि संरक्षण गर्दैआएको हो ।
वन संरक्षणमा उदाहरणीय काम गर्दैआएको वन समूहलाई वन तथा भूसंरक्षण विभागले २०८१ साउन २५ गते गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत गरेको थियो । मुलुकभर रहेका सामुदायिक वन संरक्षणमा उत्कृष्ट काम गर्ने वन उपभोक्ता समूहमध्येबाट सो वन समूहलाई एक लाख नगद सहित पुरस्कृत गरिएको हो ।


















