सिमरा, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले भष्ट्राचारविरुद्ध निष्पक्ष छानबिन गर्न नसक्ने बताउनुभएको छ ।प्रेस चौतारी नेपाल बाराले शनिवार सिमरा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सो कुरा बताउनुभएको हो ।अनियमितता र भष्ट्राचारका ठुला मुद्दामा नाम जोडिएका नेताको दल सरकारको सहयात्री रहेकाले पनि वर्तमान सरकारले भष्ट्राचारीहरु विरुद्ध कारबाही गर्न नसक्ने बताउनुभयो ।सरकारको मोर्चामा रहेका दलका नेता नै विभिन्न प्रकरणमा जोडिएको अवस्थामा निष्पक्ष छानविन हुनेमा आशंका रहेको ज्ञवालीले बताउनुभयो ।सरकारले स्टन्ट मात्रै गरिरहेको दाबी गर्दै उहाँले आफ्नै शरीरमा फोहोर बोकेर सफा गरे भन्नु र वर्तमान सरकारले भष्ट्राचारविरुद्ध अभियान तीव्र पारे भन्नु उस्तै रहेको ज्ञवालीको भनाई थियो ।‘प्रचारबाजी र पूर्वाग्रही भन्दा पनि सरकार निष्पक्ष भएर भष्ट्राचारविरुद्ध अघि बढ्न जरुरी छ । आफ्नालाई बचाउने र अरुलाई फसाउने कार्यले मात्रै भष्ट्राचार नियन्त्रण हुँदैन’ ज्ञवालीले भन्नुभयो, ‘सरकार निष्पक्ष भएर भष्ट्राचारविरुद्ध अघि बढे एमालेले सहयोग गर्छ ।’लडाकु शिविर घोटाला, ललिता निवाससंगै पछिल्लो समय सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका नेताको बुवाछोराकै संलग्नता रहेको चर्चा भईरहेको अवस्थामा सरकार मौन देखिएको उहाँले बताउनुभयो ।एमाले अहिले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताउदै सरकारमा भन्दा पनि यतिबेला एमालेको रुची राष्ट्र निर्माणमा केन्द्रीत रहेको ज्ञवालीको भनाई थियो । सरकारले देश र जनताको पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप उहाँले लगाउनुभयो ।प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणबाट देशमा कुनै उपलब्धि नभएको र उक्त भ्रमणले भारतको इच्छा पूरा गर्ने काम भएको उहाँले बताउनुभयो । ‘प्रचण्डको भारत भ्रमणमा भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ वर्षदेखि अलपत्र पार्दै आएको माथिल्लो कर्णालीका सम्बन्धमा कुनै संवाद नगरी थप दुई आयोजना जिम्मा लगाउने काम भएको छ ।’ ज्ञवालीले भन्नुभयो ।मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशालाका लागि बारा आउनुभएका नेता ज्ञवालीले मधेसको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताउनुभयो । मधेसमा लामो समय नेपाली कांग्रेसले र मधेसवादी दलले नेतृत्व गरिरहे पनि विकासको अवस्थामा कमजोर रहेको उहाँको भनाई थियो ।पत्रकार सम्मेलनमा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेस सरकार र मधेसका स्थानीय तहहरुमा बढी रकम अपचलन भएको देखाएकाले त्यसको नियन्त्रण गर्न एमालेले पहल गर्ने उहाँले बताउनुभयो । मधेसको विकास र समृद्धीका लागि एमालेलाई जागरुक गर्ने अभियान सुरु भएको समेत भट्टराईले बताउनुभयो ।प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमाले पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अनिल गौरवले गर्नुभएको थियो ।


















