निजगढ,बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेको खुल्न आएको छ ।नगरपालिकाको अधिकृत सातौं तहका कर्मचारी जयसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुख किशोरीप्रसाद कलवारको हस्ताक्षर समेत किर्ते गरि पेस गरेको कागजातको आधारमा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुल्न आएको हो ।
किर्ते गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जयसवालले पेस गरेको कागजपत्रको आधारमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा उनले अधिकृतको जिम्मेवारी लिएका हुन । जयसवालले सोमवार नगरपालिकामा हाजिर भएर पदभारसमेत ग्रहण गरेका छन । नगर उपप्रमुख नजमु शेहर र कर्मचारीहरुले कार्यालयमा उनको स्वागत गरेका थिए ।
आर्थिक तथा प्रशासनिकसहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि नगरपालिकाले मिति २०८१ बैशाख २४ गतेको चलानी नम्बर १३८० बाट नगरपालिकाले काज-सरुवा सहमति दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई जयसवालले प्रविधिको प्रयोग गरी सो पत्रमा किर्ते गरेको पाइएको बताइएको छ ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१ असार ९ गते चलानी नम्बर २४७४ पत्रबाट यस पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिओम प्रसाद जयसवाललाई दिइयो तर पछि थाहा भयो उहाँले सरकारी पत्र र मेरो हस्ताक्षर समेत दुरुपयोग गरेका रहेछन ।’
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख कलवारले भने घटनाको जानकारी पाएलगत्तै जैसवालको जिम्मेवारी बदर गरी सरकारी कागजको किर्ते गरेकोमा कानुनी कारबाही निम्ती प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र कोष तथा लेखा निरीक्षण कार्यालय, कलैया बारालाईसमेत पत्रचार गरी जानकारी गराएको बताउनुभएको छ ।
सिम्रौनगढ नगरपालिकाबाट पत्र लिएर आएका हरिओमप्रसाद जयसवाललाई स्थानीय सरकार सचालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार पालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटनइएसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विण्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयोे, ‘जयसवाल सो नगरपालिकामा कार्यरत रहेका कर्मचारीमध्ये सबैभन्दा उच्च तहको कर्मचारी हो भनि सिफारिस भएर आएका कारण कानुन बमोजिम जिम्मेवारी दिइएको हो तर सो पत्र किर्ते गरी ल्याइएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी छैन । यसको सत्यतथ्य सम्बन्धीत निकायले छानबिन गरेपछि मात्र थाहा हुनेछ ।’
यसअघि २०७८-७९ मा जयसवाल सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा उनलाई माछा पोखरी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको थियो । केही समयअघि मात्रै सो मुद्दामा सफाइ पाएको भएपनि उीविरुद्ध अहिले पनि अख्तियारले १० भन्दा बढी उजुरीमा अनुसन्धान गरिरहेको सिम्रौनगढ नगरपालिका एक कर्मचारीले जानकारी दिएका छन ।यसैबीच जिल्ला प्रहरी कार्यालय बारालेसमेत यस घटनाको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र खड्काले जिल्ला प्रहरी कार्यालयमा कर्मचारीले सरकारी किर्ते कागजात बनाएको भनेर निवेदन आएको हुदाँ प्रहरीले अनुसन्धान सुरु गरेको बताउनुभयो ।लामो समयबाट आन्तरिक विवादका कारण प्रमुख प्रसाशकीय अधिकृत विहिन अवस्थामा रहेको सिम्रौनगढमा यसअघि प्रमुख प्रशासकीय अधिकृतको हाजिरी गराउदा भएको विवादका कारण गोलीसमेत चलेको थियो । सो घटनामा प्रहरीको गोली लागेर स्थानीय एकजनाको मृत्यु भएको थियो ।



















