निजगढ,बाराका अधिकांश स्थानीय तहहरुले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेट शनिवार सार्वजनिक गरेका छन ।जिल्लाको निजगढ नगरपालिका, कोल्हबी, कलैया उपमहानगरपालिका, परवानीपुर, बारागढी र देवताल गाउँपालिकाले बजेट सार्वजनिक गरेका हुन । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र देवताल गाउँपालिकामा बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा विवाद भएको छ ।
जिल्लाको पचरौता, सिम्रौनगढ, महागढीमाई नगरपालिका, फेटा, करैयामाई र विश्रामपुरलगायत अन्य गाउँपालिकामा यसअघि नै बजेट पेस भइसकेको छ । योसंगै जिल्लाका सबै पालिकाले बजेट सार्वजनिक गरेका हुन ।स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र चालु आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पालिकाले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने र असार मासन्तसम्म पारित गर्नुुपर्ने व्यवस्था छ ।
समयमा बजेट नल्याउँदा वित्तीय अनुशासनमा प्रश्न उठ्नुका साथै खर्चमा समेत प्रभाव पर्ने गरेको छ । अघिल्लो वर्ष धेरै पालिकाले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेका थिएनन् ।यसैबीच जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको तेस्रो बैठक सोमवार तनावपूर्ण अवस्थापछि अवरुद्ध भएको छ । अवैधानिक ढंगबाट सभा सम्पन्न गर्न खोजिएको भन्दै अधिकांश नगरसभा सदस्य तोडफोडमा उत्रिएपछि बैठक अवरुद्ध भएको हो ।
जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित बैठकमा नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि विरोध सुरु भएको थियो । यसअघिका दुई बैठक बहिष्कार गर्नुभएका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहितका अधिकांश सदस्य विरोधमा उत्रिएका थिए ।
बैठकको विरोध गर्दै सभास्थल प्रवेश गरेका नगरसभा सदस्यले कुर्सी भाच्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो । उनीहरुले नगर प्रमुख पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न रोकेका थिए । नगरसभा सदस्यको विरोध र तोडफोडपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले नगर प्रमुख पौडेललाई सुरक्षा दिएर स्टेजमै राखेका थिए ।कडा सुरक्षा घेराबीच बैठकस्थल प्रवेश गरेका नगर प्रमुखले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (३) बमोजिम २५ प्रतिशत सदस्यको उपस्थिति नहुँदै नीति तथा कार्यक्रम वाचन गर्न थाल्नुभएको थियो । उपदफा (१) र (२) बमोजिम असार ५ र ८ गतेको बैठक स्थगित भएपछि उपदफा (३) बमोजिम २५ प्रतिशतको उपस्थितीमा बैठक बस्न सक्ने नियमावलीमा व्यवस्था छ ।
नगर प्रमुख पौडेल बैठक स्थलमा प्रवेश गर्दा २७ जना नगरसभा सदस्यले मात्रै उपस्थिति जनाएका थिए । आफू समेत हाजिरी पुस्तिकामा उपस्थिति नजनाई बैठकस्थल प्रवेश गरेका पौडेलले राष्ट्रिय धुन बजेलगत्तै नीति तथा कार्यक्रम वाचन गर्न थालेपछि बैठक विरोधमा रहेका ९४ जना सदस्य बैठकस्थल प्रवेश गरेपछि सभा बिथोलिएको थियो ।उपप्रमुख अधिकारीसहित नगरसभा सदस्यलाई बैठक स्थलमा प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले रोक्दा केहीबेर घम्साघम्सी समेत भएको थियो । बैठकस्थल प्रवेश गर्न लागेका जनप्रतिनिधिलाई रोक्न सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेपछि स्थिति थप बिग्रिन पुगेको थियो ।
नगरसभा संचालन नियमावली २०७५ को ५ उपदफा (१) बमोजिम नगर प्रमुख पौडेलले असार ५ गते पहिलो नगरसभा बैठक बोलाएका थिए । तर कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नै नभएको भन्दै उपप्रमुखसहित वडाध्यक्ष र कार्यपालिका सदस्यले पहिलो बैठक बहिष्कार गरेका थिए ।पहिलो बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित नगरभासदस्य उपस्थित भएनन् । उपदफा (१) अनुसार बैठक संचालनका लागि ५० प्रतिशत भन्दा बढी सदस्यको उपस्थिति अनिवार्य छ ।
नियमावली अनुसार गणपूरक संख्या नपुगेपछि नगर प्रमुख पौडेलले तत्कालै उक्त बैठक स्थगन गरेर उपदफा (२) बमोजिम दोस्रो बैठक आहवान गर्नुभएको थियो । दोस्रो बैठकमा पनि ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएनन् । नगर प्रमुख पौडेलले दोस्रो बैठक पनि स्थगित गरेर उपदफा (३) बमोजिम तेस्रो बैठक असार १० गते सोमवारका लागि बोलाउनुभएको हो । उपदफा (३) मा २५ प्रतिशतको उपस्थितिमा बैठक बस्न सक्ने प्रावधान छ ।
तर अधिकांश सदस्य विरोधमा रहेका कारण नगर प्रमुखलाई २५ प्रतिशत पुर्याउन सकस देखिन्थ्यो । उहाँले नेकपा माओवादी केन्द्रबाट निर्वाचित आफूसहित २० सदस्यमा थप ११ जनाको समर्थन खोज्नुभएको थियो । त्यसका लागि एकीकृत समाजवादीबाट निर्वाचित चार र नेपाली कांग्रेसबाट वडा नम्बर २४ मा निर्वाचित तीन सदस्यको समर्थन अन्तिम समयमा प्राप्त गर्नुभएको थियो । तर पनि उहाँले २५ प्रतिशत समर्थन प्राप्त गर्न सक्नुभएन ।बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बज्न लागिसक्दा पनि सुरु भएको थिएन । यसबीचमै नगर प्रमुख पौडेललाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सुरक्षा दिएर बैठक स्थलभित्र प्रवेश गराएका थिए ।नीति तथा कार्यक्रम पढ्न सुरु गरेलगत्तै बैठकस्थलमा रहेका असन्तुष्ट नगरसभा सदस्यले अवरोध गरेका थिए । सो लगत्तै प्रहरीको सुरक्षा घेरा तोडेर उपप्रमुख भोलाप्रसाद अधिकारीसहितका नगरसभा सदस्य बैठक स्थल प्रवेश गरेपछि नगर प्रमुखले नीति तथा कार्यक्रम पढ्ने वातावरण भाँडिएको थियो ।बैठक तनावपूर्ण बनेर बिथोलिए पनि नगर प्रमुख पौडेलले पौडेलले नीति तथा कार्यक्रम र बजेट पास भएको बताउनुभएको छ । सुरक्षाकर्मीको घेराबीच संचारकर्मीलाई प्रतिक्रिया दिदै पौडेलले नीति तथा कार्यक्रम र बजेट पास भएको दावी गर्नुभएको थियो । उहाँले पास भएको बजेटलाई स्वीकार गर्न पनि नगर सभा सदस्यहरुसंग आग्रह गर्नुभएको थियो ।
पौडेलले उक्त दावी गरिरहदा बैठकस्थलमा नीति तथा कार्यक्रम र बजेट भने प्रस्तुत भएको थिएन् । नगर प्रमुख पौडेलले बजेट वक्तव्य कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले पढेको र उक्त बजेट सभाले पास भएको दावी गर्नुभएको हो । तर वडाध्यक्ष लामिछानेले भने बजेट प्रस्तुत नै हुन नपाएको बताउनुभएको छ ।उता, नगर उपप्रमुख अधिकारीले अवैधानिक रुपमा आयोजना गरिएको बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नै नभएको बताउनुभएको छ । बैठक स्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिदै अधिकारीले नीति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत नभएको र पास पनि नभएको बताउनुभयो ।
नगर प्रमुख पौडेलले सिमरामा बसेर अवैध ढंगले २५ प्रतिशतको उपस्थिति गराएर नगरसभामा आएको र सोही आधारमा नीति तथा कार्यक्रम र बजेट पारित भएको भन्ने आफूले सुनेपनि त्यस्तो कुरामा नलाग्न समेत अधिकारीले आग्रह गर्नुभएको छ । अधिकांश नगरसभा सदस्यको भावना र चाहनाविपरित नगर प्रमुख एकलौटी ढंगबाटअघि बढ्न खोजे त्यसको प्रतिवाद गर्न आफूहरु समेत तयार रहेको अधिकारीको भनाई थियो ।नगरसभा सदस्यले नगर प्रमुख पौडेललाई बैठकस्थलबाट बाहिर निस्किन नदिएपछि सुरक्षाकर्मीले सुरक्षा दिएको थियो । उहाँलाई बैठकस्थलबाट पटकपटक निकाल्ने प्रयास भएको र नगरसभा सदस्यले विरोध गरेपछि प्रहरीले पुनः स्टेजमै लगेर राखेको थियो ।यसबीचमा प्रहरीले नगरसभा सदस्यलाई भुक्याउदै नगर प्रमुख पौडेललाई बैठक स्थलबाट भगाएको थियो । नगरसभा सदस्यलाई बैठक स्थलमै घेरेर राख्दै प्रहरीले अर्को ढोकाको प्रयोग गरेर नगर प्रमुखलाई लगेको थियो । सो क्रममा नगरसभा सदस्य र प्रहरीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।नगर प्रहरी पौडेललाई बैठकस्थलबाट निकाल्ने क्रममा संयौको संख्यामा रहेका सुरक्षाकर्मीले महिला जनप्रतिनिधिलाई छिचोल्दै गएका थिए । सो क्रममा कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारीको हातमा चोट लागेको छ ।



















