सिमरा । प्रथम सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मधेस प्रदेशले उपाधि हात पारेको छ।
मधेस प्रदेशले १७ स्वर्ण, १० रजत र ९ कास्य पदक जित्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो। उपाधिसँगै मधेसले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
त्यस्तै, १७ स्वर्ण, १० रजत र ८ कास्य पदकसहित बागमती प्रदेश दोस्रो भएको छ। बागमतीले नगद ३० हजार रुपैयाँ प्राप्त गर्दा आयोजक चितवन तेक्वान्दो डोजाङ १० स्वर्ण, १७ रजत र ४० कास्य पदकसहित तेस्रो भएको छ। आयोजकले नगद २० हजार रुपैयाँ पुरस्कार पाएको छ।
प्रतियोगितामा ग्योरुगीतर्फ आयोजकका साहिल मंसुर र महिलातर्फ बागमती प्रदेशकी दीक्षा तामाङ उत्कृष्ट फाइटर घोषित भए। पुम्सेतर्फ पुरुषमा गण्डकी प्रदेशका आयुष गुरुङ र महिलामा कोशी प्रदेशकी युमि राई उत्कृष्ट खेलाडी बने।
त्यसैगरी, मधेस प्रदेशका शंकर रखाल र दिपेश मानन्धर उत्कृष्ट प्रशिक्षक घोषित हुँदा उज्ज्वल श्रेष्ठ उत्कृष्ट निर्णायक बन्न सफल भए। विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही एक सय अमेरिकी डलर पुरस्कार प्रदान गरिएको थियो।
विजेता तथा उपविजेता टोली, उत्कृष्ट खेलाडी, प्रशिक्षक र निर्णायकलाई रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, चितवन खेलकुद विकास समिति प्रमुख राजन कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए।
रत्ननगरको टाँडीमा कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स र अस्ट्रेलियालगायत विभिन्न देशका खेलाडी सहभागी भएका थिए।

















