निजगढ,पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र रौतहटको सिमानमा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शिशुको आमा पनि बुधवार बिहान बेवारिसे अवस्थाकम नै भेटिएकी छिन ।शिशु फेला परेको भोलिपल्ट बुधवार सोही स्थान नजिकैको सडकमा रुदै पैदल हिडिरहेको अवस्थामा प्रहरीले शिशुको आमालाई पनि फेला पारेर उद्धार गरेको छ । जंगलको बीच सडकमा महिला रोएर हिडिरहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले महिलालाई उद्धार गरेर कार्यालय ल्याएको थियो ।प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी हुन् । महिलाले दिएको जानकारीको आधारमा पती गुड्डु सिंहले भारतबाट रौतहटको नुनथर दर्शन गर्न भनेर उनलाई नेपाल ल्याएको प्रहरीले बताएको छ । गुड्डुले सितामडीबाट साथीको गाडीमा नेपाल ल्याएका थिए । बाटोमा मदिरा सेवन गराएर बेहोस बनाएपछि उनलाई जंगलमा लगेर छाडिएको र मंगलवार राती होसमा आएपछि उनी सडक किनारामा आइपुगेको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।रातभरि वर्षाले रुझेर कमजोर भएको अवस्थामा जंगलबाट घिस्रिएर राजमार्गमा निस्किन सफल भएको महिलाले प्रहरी समक्ष बताएकी छिन् । घरमा अर्की श्रीमती भएका गुड्डुले गाउँकै ती युवतीलाई भगाएर कोठामा राखेका थिए ।प्रहरीले आमा र शिशुलाई माइती पक्षको जिम्मा लगाउने तयारी गरेको छ । महिलाले दिएको जानकारीको आधारमा फोन सम्पर्क गरेर माइती पक्षबाट दिदी भिनाजुलाई कलैया बोलाएर जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।



















