काठमाडौं । सोह्र श्राद्ध सुरु भएपछि रुपा थापाले महिनावारी पर सार्ने औषधि खाइरहेकी छिन् । उनी भन्छिन्, ‘दुई दिनपछि ससुराको श्राद्ध गर्नुछ । एक्ली बुहारी भएकाले सबै काम आफैं गर्नुपर्छ । यस्तो बेला महिनावारी भयो भने श्राद्धको काम गर्न मिल्दैन ।’ महिनावारी भएको बखत ‘छुवाछुत’ गर्नु हुँदैन भनी धारणा राख्ने रुपा एक्ली होइनन् ।

उनीजस्तै चावहिलकी विमला सापकोटाले पनि केही दिनअघि महिनावारी पर सार्ने औषधि खाइन् । घरको सबै परिवार दोलखाको भीमसेन मन्दिर जाने भएपछि आमाको सल्लाहमा विमलाले औषधि खाएकी थिइन् । ‘मन्दिर जाने दिन र महिनावारी हुने समय लगभग एकै अवधिमा परेकाले औषधि खाएँ,’ उनी सुनाउँछिन्, ‘औषधिले गर्दा महिनावारी त भएन । तर जीउ दुख्ने, कमजोरी महसुस हुने, दिक्क लाग्ने भइरह्यो ।’

चाडपर्वको याम सुरु हुँदैछ । दशैं, तिहारजस्ता पर्व हुन् वा घरपरिवारमा हुने धार्मिक कार्य, ‘चोखो बस्नुपर्छ’ भन्ने पुरातन धारणा छ । यही धारणालाई शिरोपर गर्दै कतिपय महिलाले महिनावारी पर धकेल्ने औषधि खाने गरेका छन् ।
त्यसो त चाडपर्व वा पारिवारिक जमघटका बेला महिलाले भात–भान्साको काम सम्हाल्नुपर्ने बाध्यता हुन्छ, खासगरी नेपाली समाजमा । अतः यतिबेला चोखो बस्नका साथै महिनावारीको पीडाबाट मुक्त हुन कतिपय औषधि खाने गर्छन्, जसले महिनावारीलाई केही अवधिका लागि पर धकेल्छ । सामान्य दिनमा भन्दा पनि चाडपर्वको समयमा महिनावारी रोक्ने औषधि बढी खपत हुने रेवतीरमण पोलिक्लिनिककी कुसुम गुरुङ बताउँछिन् ।

‘सोह्र श्राद्ध सुरु भएसँगै धेरै महिला यस्तो औषधि किन्न आउँछन्,’ गुरुङ भन्छिन्, ‘दशैं तिहार आउनुअघि यसको बिक्री अझै बढ्छ ।’ यस्तो औषधि किनेर मनोमानी ढंगले खानु हानिकारक हुनसक्ने उनी बताउँछिन् । ‘सकेसम्म चिकित्सकको परामर्श लिएर मात्र खानु भन्छौं,’ उनी भन्छिन् । सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि अहिले महिनावारी पर सार्ने औषधि खाने क्रम बढेको उनी सुनाउँछिन् ।

के चाडपर्व र कुनै विशेष काममा यस्ता महिनावारी पर सार्ने औषधि प्रयोग गर्न कत्तिको उचित हो ? यसले शरीरमा कुनै हानि गर्छ ?

‘महिनावारी प्राकृतिक प्रक्रिया भएको हुँदा सकेसम्म नखाएको राम्रो,’ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दीपा चुडाल भन्छिन्, ‘कहिलेकाहीं खानैपर्ने बाध्यता हुनसक्छ । यस्तो अवस्थामा खाँदा त्यस्तो कुनै हानि गर्दैन । तर नियमित खानु राम्रो होइन ।’
के हुन्छ हानि ?

महिनावारी पर सार्ने औषधिले खासगरी महिलाको हर्मोनलाई असन्तुलित बनाउन सक्छ । यसैको कारण औषधि सेवनपछि रक्तस्राव बढी हुने जोखिम हुन्छ । महिनावारी गडबड हुनसक्छ, जीउ दुख्न सक्छ ।
‘रगत बाक्लो हुने रोग, मोटोपन, उच्च रक्तचाप, माइग्रेन भएकाहरुले सम्भव भएसम्म यस्तो औषधि नखाएकै राम्रो,’ डा. चुडाल भन्छिन् । महिलाको महिनावारी दुई हर्मोनमा निर्भर हुन्छ, एस्ट्रोजन र प्रोजेस्टेरोन । महिनावारी हुन नदिन यी हर्मोन विरुद्धको चक्की खानुपर्ने हुन्छ । यसको सोझो अर्थ के भने यी चक्कीले हर्मोनल चक्रलाई असर गर्छ ।

त्यस्तै, महिनावारी रोक्ने चक्की खाँदा कति मात्रामा खाने, कुन समयमा खाने भन्ने कुरा चिकित्सकहरुको सुझावमा खानुपर्ने ईशान बाल तथा महिला अस्पतालमा कार्यरत आईभीएफ विशेषज्ञ डा. ज्योति अग्रवाल बताउँछिन् । हर्मोनकै औषधि भएको हुँदा कहिलेकाहीं खाँदा कति मात्रामा खानुपर्छ भनेर बुझेर खाँदा धेरै हानि नगर्ने उनी बताउँछन् ।
जब हुन्छ गडबड‘
आफूखुसी यस्ता औषधि खानेहरु महिनावारी गडबडी भएको समस्या लिएर चिकित्सकहाँ आउने डा. अग्रवाल बताउँछिन् । ‘महिनावरी रोक्ने औषधि खाएकाहरुले निश्चित अवधि गुज्रिसकेपछि महिनावारी भइहाल्छ भन्ने सोच्छन्,’ डा. अग्रवाल भन्छिन्, ‘तर त्यस्तो हुँदैन । महिनावरी औषधि खान छाडेको केही दिनपछि मात्र पनि महिनावारी हुनसक्छ ।’ त्यसैले महिनावरी पर सार्ने औषधि कसरी, कति खाने भन्ने कुरामा हेक्का राख्नुपर्ने उनको सुझाव छ ।

डा. अग्रवालका अनुसार चिकित्सकहरुले तीन अवस्थालाई मध्यनजर गरेर कसलाई यो औषधि दिने र कसलाई नदिने भनेर विभाजन गरेका छन् । एउटा न्यून जोखिमका बिरामी, अर्को मध्यम जोखिम र तेस्रो भनेको उच्च जोखिम । मुटुरोग नभएका, स्ट्रोक र प्यारालाइसिस पहिले नभएको, मद्यपान र धुम्रपान नगर्ने, ठिक्क तौल भएका महिलाहरुले खाँदा बढी असर नगर्ने हुँदा न्यून जोखिममा राखिएको छ ।

मध्यम जोखिम भएका बिरामी जस्तै, उच्च रक्तचाप भएका बिरामी, माइग्रेनको समस्या भएका बिरामीलाई भने विचार गरेर कति दिन खाने, कति मात्रामा दिने सबै सल्लाह दिएर मात्र खान दिने गरिन्छ । त्यसैगरी, मुटुरोगका बिरामी, स्ट्रोकको हिस्ट्री भएका बिरामी, अत्यधिक तौल भएका व्यक्तिलाई भने सकेसम्म सकेसम्म हर्मोन औषधि दिइँदैन ।

Leave a Reply