आरके चौधरी
सखुवाप्रसौनी,पर्साको पर्सागढी नगरपालिकाको नगर सभा स्थगित भएको छ । उद्धाटन लगत्तै नगरपालिकाको ११औं नगरसभा स्थगित भएको हो ।केही नगरसभा सदस्यहरुले सुरुमै विरोध जनाउँदा नगर सभा स्थगित भएको हो । सभाध्यक्ष एवम् नगर प्रमुख गोकर्ण पाठकले पानसमा बत्ती बालेर नगरसभाको उद्घाटन गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत सहित ५० जना नगरसभा सदस्य रहेकोमा २२ जनाले मात्र उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेपछि कुल सदस्य संख्याको ५१ प्रतिशत नपुगेकाले सभा स्थगित भएको हो ।
असार २ गते बसेको कार्यपालिका बैठकले असार ८ गते नगर सभा गर्ने निर्णय गरेसंगै केही कार्यपालिका सदस्यहरुले विभिन्न मागअघि सारेका थिए । उनीहरुको माग पूरा नभएकोले नगरसभाको उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा बहुमत नपुगेकोले सभा नै स्थगित भएको हो । केही कार्यपालिका सदस्यहरुले वडाको बजेट सिलिङ्ग ५० लाखबाट बढाएर १ करोड गर्नुपर्ने, वडा अध्यक्षहरुलाई सेवा सुविधा दिनुपर्ने, आर्थिक बर्ष ०८०-०८१ को पालिकाको आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने लगायत माग राखी विरोध गर्दै आईरहेका थिए ।
पर्सागढीका नगरप्रमुख पाठकले केही वडा अध्यक्षहरुले पूरा गर्नै नसकिने मागहरु राखेर पालिकालाई बन्धक बनाउन खोजेको बताउनुभयो । आफूहरुले ५० लाखभित्र रहेर वडाको बजेट सिलिङ बनाउन भनेकोमा वडा अध्यक्षहरुले १ करोड रुपैँया माग गरेकोले समस्या भएको उहाँको भनाई छ । गणपुरक संख्या नपुगेको कारण शनिवारको नगरसभामा बजेट पेस गर्न नसकिएको उहाँले जनाउनुभयो ।यसैबीच नगर सभाको अर्को बैठक आगामी ९ गते पुनः बोलाउने निर्णय गरिएको छ । नगरको विकास र प्रशासनिक कार्यमा कुनै अवरोध नहोस् भनेर नगर प्रमुख पाठकले सबै पक्षलाई संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।


















