नेपालमा जनगणना शुरू भएको १ सय १० वर्षपछि अहिले १२औँ जनगणना शुरू भएको छ । राष्ट्रपती विद्यादेवी भण्डारी, उपराष्ट्रपती नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा पुगेर शुरू भएको जनगणना १५ दिनसम्म चल्नेछ ।
जनगणना शुरु भएको खुसीयालीमा राष्ट्रपती, उपराष्ट्रपती, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका नेताले शुभकामना दिएका छन् । शुभकामनासँंगै सबै नेपालीले साँचो विवरण दिन देशवासीको नाममा सन्देश दिएका छन् । जनगणना मात्र ठूलो कुरो होइन, सत्य–विवरण ठूलो कुरा हो भन्ने सन्देश सबैतिरबाट प्रकट भएको छ । हरेक १० वर्षपछि देशको भूगोलअनुसारको जनसंख्या, पेसा–व्यवसाय, विभिन्न जातजाति, भाषाभाषि, धर्म–संस्कृति, घर–परिवार, पशुपक्षीको संख्यालगायत सबै विवरण जानकारी गराउन जनगणना गरिन्छ ।
वास्तवमा मुलुककै बारेमा आधिकारिक जानकारीको स्रोत मानिएको जनगणनामा यथार्थ विवरण टिप्न र टिपाउन सबैलाई आह्वान गरिएको छ । नेपालमा गणतन्त्र आएपछि शुरु भएको जनगणनामा कसैले पनि झुटो विवरण पेस नगर्न सरकार प्रमुखले आग्रह गरेका छन् ।
केन्द्रीय तथ्याङ्क विभागले झुटो विवरण पेस गर्दा गम्भीर समस्या देखिने भन्दै त्यसो नगर्न सार्वजनिक अपिल गरिसकेको छ । दैशैभर करिब ४० हजार गणक घर–घरमा पुगेका छन् । ९ हजार कर्मचारी अनुगमनमा खटिएका छन् । उनीहरु सबैलाई सहयोग गर्नु हाम्रो कर्तव्य र दायित्व बनेको छ । विभागले ७ सय ५३ वटै स्थानीय तहका प्रमुख तथा वडा अध्यक्षबाट गणना शुरु गरेको छ । यसमा सबै स्थानीय तहका जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।