बसन्त लामा
सिगौंल,निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ को विद्युत प्रशारण लाइनमा कभर कन्टकटर जडान हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले निजगढबाट सिगौंल हुदै मकवानपुरको बकैया गाउँपालिकाको लागि तानेको निजगढ– सिगौंल क्षेत्रको करिव ५ किमी क्षेत्रमा कन्टकटर जडान गर्न लागिएको हो । निजगढको पूर्वपश्चिम लोकमार्गको भमरा पुल हुदै सिंगौलसम्म तानिएको नाङ्गो तारमा कभर कन्टकटर राखिने प्राधिकरणले जनाएको छ । सो क्षेत्रमा हाल देखापरेको अनियमित विद्युत आपूर्तिको समस्या निराकरण गर्न नाङ्गो तारमा कभर कन्टकटर गरिनुको साथै विजुलीको पोल समेत फेर्न लागिएको बताइएको छ ।
नाङ्गो तारका कारण सामान्य हावा हुरी र वर्षमा उक्त क्षेत्रमा विद्युत अवरुद्ध हदै आएकोले नियमित विद्युत आपूर्ति व्यवस्थाको लागि पहल सुरु भएको प्राधिकरणले जनाएको छ ।
निजगढ– सिगौंल क्षेत्रको प्रशारणलाईनबाट मकवानपुरको सिंगौल बकैया गाउँपालिका वडा नम्बर २ को थाकलचौर, वडा नम्बर १ को राजुवा र रौतहट चन्द्रपुर नगरपालिकामा पर्ने अरुण बस्ती, पुरानो नर्सरी, इपिल बस्ती र धोबी खोला बस्तीमा पनि विद्युत आपूर्ति हुदै आएको र अनियमित आपूर्तिले उक्त क्षेत्रका विद्युत उपभोक्ताले लामो समयदेखि समस्या बेहोर्दै आएका छन ।
बकैया गाउँपालिका वडा नम्बर का वडा अध्यक्षसहित काठमाण्डौं पुगेको टोलीले नियमित विद्युत आपूर्ति प्रवन्धको लागि मागपत्र बुझाएपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नाङ्गो तारमा कन्टकटर जडान गर्न नेपाल विद्युत प्राधिकरण सिमरा वितरण शाखालाई निर्देशन दिएको सिगौंलबाट हाम्रा सहकर्मी बसन्त लामाले जानकारी दिनुभएको छ । मागपत्र बुझाउन वडा अध्यक्ष सहित गायक तथा स्थानीय सामाजिक अभियन्ता प्रतिका ब्लोनसहितको टोली काठमाण्डौं पुगेको हो । अभियन्ता ब्लोनको पहलमा निजगढको सिगौंल हुदै उक्त क्षेत्रमा ४ वर्षअघि बिजुलीको लाइन विस्तार गरिएको थियो ।