पुष्पराज खतिवडा
मनहर्वा,मधेस प्रदेश सरकारले बिउबिजन सम्बन्धी विशेष परियोजना संचालनमा ल्याउने भएको छ ।बुधवार बाराको कलैयामा कृषि ज्ञान केन्द्रले आयोजना गरेको प्रदेश स्तरीय बिउ उत्पादक एक दिने गोष्ठीलाई सम्बोधन गर्दै मधेस प्रदेशको भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले यस्तो बताउनुभएको हो ।‘बिउमा परनिर्भता घटाउने प्रयासका लागि बिउ उत्पादक किसानलाई बिना ब्याजमा बिउ पुँजी समेत दिएर सहयोग गरिने, सचिव पाण्डेले भन्नुभयो, बिउ उत्पादकका लागि समयमा मल, बिउ र उपयुक्त सिँचाईको व्यवस्थापनको लागि समेत विशेष परियोजना संचालन गरिने छ ।’ मन्त्रालयका सचिव पाण्डेले बिउ उत्पादनमा देखिएका समस्या समाधानमा परियोजनाले काम गर्ने बताउनुभयो ।
‘नेपाल कृषि अनुसन्धान परिषद (नार्क)सँग सहकार्य गरी मुल बिउ प्रयाप्त उपलब्ध नहुने समस्याको समाधान गरिने छ ।’ मन्त्रालय र निर्देशनालयले परियोजनाको गृहकार्य गरिरहेको बताउदै सचिव पाण्डेले बिउ उत्पानदका लागि आवश्यक पूर्वाधार निर्माणमा काम भइरहेको जानकारी दिनुभयो ।सचिव पाण्डेले यसअघिका असफल कार्यक्रमलाई हटाउँदै आजकोभन्दा भोलि फरक हुने गरी काम गरिनु पर्ने अवस्था आएको औंल्याउँदै कृषि क्षेत्रका समस्या ३० मिनटभित्रै समाधान गर्ने गरी संयन्त्र तयार गरिने पनि बताउनुभयो । ‘यसका लागि प्रत्यक जिल्लामा २ जनाका दरले अधिकृत स्तरका बिउ तथा विषादी निरीक्षक राखिने छ, उहाँले भन्नुभयो, बिउ उत्पादन क्षेत्रलाई परिस्कृत गर्दै मधेस प्रदेशलाई आत्मानिर्भरतातर्फ लैजाने पनि उहाँको भनाई थियो ।
कार्यक्रममा कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका निर्देशक जितेन्द्र यादवले मधेस प्रदेशका जिल्लामा धान, गहुँ, दलहन र तेलहनका बिउमा परनिर्भरता घटाउन जरुरी भएको बताउनुभयो ।अनुदानको भरमा मात्रै बिउमा आत्मनिर्भता हुननसक्ने भन्दै सरकार र उत्पादक मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।कार्यक्रममा बिउ बिजन गुण नियन्त्रण केन्द्र काठमाण्डौंका उपसचिव मोहनप्रसाद खतिवडा, मधेस प्रदेशको भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राममणी अधिकारी, रोशन मेहता र सरोज चौधरीको सहभागिता थियो ।यस्तै मधेस प्रदेशको बारा, पर्सा, रौतहटसहित आठै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख एवंम बिउ उत्पादक संस्थाका प्रतिनिधिहरु गरी कार्यक्रममा ८५ जनाको सहभागिता रहेको थियो ।
बिउ उत्पादनको क्षेत्रमा देखिएका समस्या केलाएर समाधान गर्ने उद्देश्यले सरकार र उत्पादकहरुको संयुक्त भेला (गोष्ठी) को आयोजना गरिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिनुभयो ।कार्यक्रममा आयोजकका तर्फबाट ३ वटा भिन्नाभिन्नै कार्यपत्र प्रस्तुत गरिनुका साथै बिउ उत्पादकहरुका समस्या र तिनको समाधानका उपायसँगै सरकारसँगको उपेक्षा पेश गर्ने गरी समूह बनाएर छलफल गरिएको थियो ।कार्यक्रम कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत रामजीवन ठाकुरको स्वागत तथा लेखापाल सुरेन्द्र चौधरीको सन्चालनमा सम्पन्न भएको हो ।
















