काठमाण्डौं,सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल जहिल्यै प्राथमिकता परे पनि निर्माण कार्य भने अलमलमा पर्दैआएको छ ।निजगढमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ०५४ सालमै प्रक्रिया अगाडि बढाइएको थियो । तर, तीन दशक पुग्दासमेत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चर्चामा मात्रै सीमित बनेको छ । आगामी आर्थिक वर्षको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले फेरि प्रवेश पाए पनि निर्माण अगाडि बढाउने गरी ठोस प्रतिबद्धता र कार्ययोजना आएको छैन ।

अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमा ‘निजगढ विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आवभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम गर्ने’ उल्लेख गर्नुभएको छ । विमानस्थलको प्रारम्भिक कामका लागि २५ करोड ५२ लाख बजेट विनियोजन गरिएको छ । तर, सरकार आफैँले विमानस्थल निर्माणका लागि पूर्वतयारीका काम अगाडि बढाउन गर्नुपर्ने पहिलो कार्य चार किल्ला घोषणा गरेको छैन । निजगढ विमानस्थलको चार किल्ला छुट्याउने काम अझै नभएको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरव आयोजना निर्देशक चाँदमाला श्रेष्ठले बताउनुभयो ।

मन्त्रिपरिषद्ले विमानस्थलको चार किल्ला छुट्याएर (स्वीकृत) राजपत्रमा प्रकाशित गरेपछि बल्ल अन्य काम अगाडि बढ्छ । ‘सबैभन्दा पहिला यो विमानस्थल क्षेत्र भनेर औपचारिक रूपमा छुट्टिनुप¥यो,’ श्रेष्ठले भन्नुभयो, ‘चार किल्लाबारे मन्त्रिपरिषद्बाट निर्णय नहुँदा अरू काम पनि रोकिएका छन ।’ क्यानको तर्फबाट विमानस्थलले ओगट्ने चार किल्ला छुट्याएर अनुमोदनका लागि पर्यटन मन्त्रालयमा पठाइसकेको छ । चार किल्ला छुट्याएपछि विमानस्थल क्षेत्रलाई तारबार गर्ने, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने, साइट सम्याउनेलगायत काम सुरु हुनेछ ।

यसअघि १० जना विज्ञ समूहले बुझाएको अध्ययन प्रतिवेदन स्वीकृत गर्न पनि सरकारले एक वर्ष ढिला गरेको थियो । प्रतिवेदन स्वीकृत भएपछि पनि निजगढ निर्माण अगाडि बढ्न सकेको छैन । सरकारले विगतदेखि नै निजगढलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आए पनि निर्माण अगाडि बढाउन सकेको छैन ।निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो, जहाँ ४५ मिटर लम्बाइका दुईवटा धावनमार्ग प्रस्ताव गरिएको छ । काठमाडौं, भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला कार्गो जहाज अवतरण गर्न सक्दैनन । काठमाडौं र भैरहवामा तीन हजार मिटर र पोखरामा २५ सय मिटर लम्बाइका धावनमार्ग छन । तैपनि, भारतले पश्चिमतर्फको हवाई प्रवेश रुट र विमानस्थलमा जडित इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्न नदिँदा दुवै विमानस्थलको भविष्य अनिश्चित बनेको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया ०५४ सालमै अगाडि बढाइएको थियो । ०६५ सालमा कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्लू)ले विस्तृत सम्भाव्यता अध्ययन गरिसकेको छ । तर, प्रक्रिया अगाडि बढाएको तीन दशक पुग्नै लाग्दासमेत अझै निर्माण अनिश्चित छ । सरकारले अझै पनि विमानस्थल निर्माण तथा सञ्चालनको मोडालिटी र ढाँचा तय गर्न सकेको छैन ।
यसअघि क्यानले विमानस्थल निर्माणका लागि पूर्वतयारीका काम गरिरहेकै वेलामा सर्वोच्च अदालतले सम्पूर्ण निर्णय, प्रक्रिया र काम खारेज गरिदिएको थियो । त्यतिवेला विमानस्थलको चार किल्ला छुट्याउने, तारबार गर्ने, वातावरणीय प्रभाव मूल्यांकन (इआइए), बकैया र पसाहा नदी स्थानान्तरण, साइट अफिस स्थापनालगायत काम भएका थिए । सर्वोच्चले सबै निर्णय र काम खारेज गरेपछि फेरि शून्यबाटै काम सुरु गर्नुपर्छ । सर्वोच्चले देशमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भए विज्ञ समूहबाट अध्ययन गराएर कमभन्दा कम वातावरणीय क्षति हुने गरी काम अगाडि बढाउन असार ०७९ मा परमादेश दिएको थियो ।

सोही आदेशबमोजिम तत्कालीन मन्त्रिपरिषद् बैठकले २६ साउन ०७९ मा हवाई पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाको नेतृत्वमा विभिन्न क्षेत्रका १० जनाको विज्ञ समूह गठन ग¥यो । समितिले देशभर अध्ययन गरेर पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढ क्षेत्र नै उपयुक्त रहेको सुझावसहितको प्रतिवेदन २ असोज ०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो । मन्त्रिपरिषद्ले गठन गरेको विज्ञ समूहको प्रतिवेदन स्वीकृत गर्न करिब एक वर्ष लगाएको थियो ।स्रोतका अनुसार क्यानले तालुकदार पर्यटन मन्त्रालयमा पेस गरेको चार किल्लाको फाइल स्वीकृतिका लागि अझै मन्त्रिपरिषद्मा पठाएको छैन । क्यानले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)देखि विमानस्थलको डिजाइन नै तयार पारिसकेको छ । ‘विमानस्थलजस्तो मोडालिटीमा बनाउने तय हुन्छ, त्यहीअनुसार लगानी हुने हो,’ क्यानकी प्रबन्धक श्रेष्ठले भन्नुभयो, ‘अहिलेसम्मको तयारी चरणबद्ध रूपमा काम गर्दै अगाडि बढ्ने भन्ने छ ।’

लगानी बोर्डले १६ र १७ वैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा नौ खर्बको प्रोजेक्ट भन्दै निजगढलाई सोकेस गरेको थियो । विमानस्थलमा लगानी गर्न जापानको एक बैंकले आशय व्यक्त गरेको लगानी बोर्डको जिकिर छ ।

हरेकजसो बजेट र नीति तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले प्राथमिकता पाउँदै आएको छ । चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए), बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षणलगायत पूर्वतयारीका कार्यका लागि बजेट छुट्याइएको छ ।अघिल्लो आर्थिक वर्ष ०७-८० को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडि बढाउने भन्नुभएको थियो । तर, कुनै पनि बजेटको घोषणा कार्यान्वयनमा आउन सकेन । उल्टै सरकारले चार किल्ला छुट्याउने निर्णय गर्न ढिलाइ गरिदिँदा पूर्वतयारीका कामसमेत अगाडि बढाउन अप्ठ्यारो परिरहेको क्यानको जिकिर छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले निजगढ विमानस्थल निर्माण छिट्टै अगाडि बढाउने बताउँदै आइरहनुभएको छ । राजनीति दलका शीर्ष नेताहरू पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा एकमत छन । सरोकारवाला सबैले निजगढ विमानस्थल निर्माण अगाडि बढाउन लबिङ गरिरहँदा पनि वर्षौँदेखि अलमल भइरहेको देखिन्छ । सरकारले निजगढ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थानान्तरण, मुआब्जा, जग्गा संरक्षणलगायत पूर्वतयारीका कार्यलाई निरन्तरता दिँँदै लगानीको मोडालिटी तय गरेर काम अगाडि बढाउने बताउँदै आएको छ ।

निजगढमा ४५ सय मिटर लम्बाइका दुईवटा धावनमार्गसहितका ठूला कार्गो विमान उडान–अवतरण गर्न सक्ने विमानस्थल बनाउने योजना छ । अहिले काठमाडौं र भैरहवामा तीन–तीन हजार र पोखरामा २५ सय मिटरको धावनमार्ग छन् । क्यानले पनि निजगढमा ४५ सय मिटर लम्बाइका धावनमार्गसहितको विमानस्थल डिजाइन गरेर तयार पारेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजना निर्देशक चाँदमाला श्रेष्ठले सबैभन्दा पहिला यो विमानस्थल क्षेत्र भनेर औपचारिक रूपमा छुट्टिनुप¥यो, चार किल्लाबारे मन्त्रिपषिद्बाट निर्णय नहुँदा अरू काम पनि रोकिएका छन्, क्यानको तर्फबाट विमानस्थलले ओगट्ने चार किल्ला छुट्याएर अनुमोदनका लागि पर्यटन मन्त्रालयमा पठाइसकेको छ । चार किल्ला छुट्याएपछि विमानस्थल क्षेत्रलाई तारबार गर्ने, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने, साइट सम्याउनेलगायत काम सुरु हुनेछन ।

 

Leave a Reply