वीरगञ्ज,नक्कली भारतीय नोट प्रकरणमा पटक–पटक पक्राउ परेका बाराका युनुस अन्सारीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान थालेको छ ।नख्खु कारागारबाट ६ वर्षको कैद सजाय पूरा गरी शनीवार रिहा भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएर उनीविरुद्ध थप अनुसन्धान थालेको हो ।
सीआईबीका एसएसपी होबिन्द्र बोगटीले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको बताउनुभयो । अन्सारीको रिहाइअघि नै सीआईबीले कारागार व्यवस्थापन विभागलाई पत्र लेखी अनुसन्धानका लागि उपस्थित गराउन अनुरोध गरेको थियो । सोही आधारमा कारागारबाट निस्कनासाथ उनलाई हिरासतमा लिइएको हो ।
अन्सारी लामो समयदेखि नक्कली भारतीय नोटको कारोबारमा संलग्न हुदैआएका थिए । सन् २०६६ पुस १३ मा २५ लाख ४४ हजार ५०० भारतीय जाली नोटसहित पहिलोपटक पक्राउ परेका उनी त्यतिबेला नेसनल टेलिभिजनका अध्यक्ष थिए । सो प्रकरणमा १७ माघ २०६६ मा कारागार चलान भएका उनको संलग्नता २०६७ असोज ६ मा ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि देखिएको थियो ।
करिब ५ वर्षको कैदपछि २०७० असोज १८ मा रिहा भएका अन्सारी पुनः २०७० माघ १० मा ३५ लाख नक्कली नोटसहित पक्राउ परेका थिए ।यस्तै, २०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित समातिएका उनलाई अदालतले ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । उक्त सजाय भुक्तान गरेर उनी शनीवार रिहा भएका हुन् ।प्रहरीका अनुसार अन्सारीमाथि भारतीय आपराधिक गिरोहको खतरा रहेकाले हिरासतबाहिर राख्दा सुरक्षा चुनौती देखिएको छ । २०६७ फागुन २६ मा केन्द्रीय कारागारमा रहँदा भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले गोली प्रहार गरी उनको हत्या प्रयास गरेका थिए ।

















