निजगढ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले बारा जिल्लाको निजगढलगायत पाँच स्थानीय तहमा सम्पन्न पालिका अधिवेशनको निर्वाचन प्रक्रियामाथि प्रश्न उठेपछि सम्बन्धित निर्वाचन समिति संयोजकहरूसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण माग गरेको छ ।केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रअनुसार निजगढ नगरपालिका, महागढीमाई नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकामा सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विभिन्न उजुरीहरू आयोगमा प्राप्त भएका छन ।

आयोगले स्थानीय तह अन्तर्गतका अधिवेशन सम्पन्न भइसकेपछि निर्वाचन प्रक्रियाको निष्पक्षता, पारदर्शिता र वैधानिकतामाथि प्रश्न उठाउँदै विभिन्न पक्षबाट उजुरीहरू दर्ता भएको सोही उजुरीका आधारमा आयोगले आवश्यक अध्ययन तथा अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।
आयोगका अनुसार उजुरीहरूको गाम्भीर्यलाई मध्यनजर गर्दै तत्काल निर्णय लिन आवश्यक देखिएकाले सम्बन्धित निर्वाचन समिति संयोजकहरूलाई निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता प्रक्रिया, मतदाता नामावली प्रकाशन, निर्वाचनसम्बन्धी सूचना, मतदान तथा मतगणना प्रक्रिया र अन्तिम परिणाम घोषणासम्मका सम्पूर्ण विवरण प्रमाणसहित पेश गर्न निर्देशन दिएको हो ।आयोगले पत्रमा उल्लेख गरेका प्रमुख कैफियतहरूमा उम्मेदवारी आह्वान नगरिएको, मतदाता नामावली प्रकाशित नगरिएको, दाबी–विरोधको प्रक्रिया अवलम्बन नगरिएको, सदस्यता रुजु प्रक्रिया पारदर्शी नभएको तथा पार्टी विधान र निर्वाचन कार्यविधिले तोकेका न्यूनतम प्रक्रियासमेत पालना नगरिएको लगायतका विषय समावेश छन ।
त्यसैगरी निर्वाचनको समय र स्थान निर्धारणसम्बन्धी विषयमा समेत प्रश्न उठाइएको छ भने अन्य विविध विषयहरूमा पनि उजुरी परेको आयोगले जनाएको छ ।केन्द्रीय निर्वाचन आयोगले सम्बन्धित संयोजकहरूलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तथ्य, प्रमाण र समयतालिकासहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । आयोगले प्राप्त जवाफ र प्रमाणका आधारमा आवश्यक निर्णय लिने बताएको छ ।


















