कलैया,पाँच महिनाअघि बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मिनियामा भएको भारतीय युवक हत्या प्रकरणका बारा प्रहरीले अर्का एक सुटरलाई पनि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् । गत असोज ९ गते पचरौतामा भारत मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा रुपेशलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभएको छ । रुपेशलाई कलैया उपमहानगरपालिका वडा नम्बर १० बाट नियन्त्रणमा लिएको न्यौपानेले जानकारी दिनुभएको छ ।प्रवक्ता न्यौपानेका अनुसार पक्राउ परेका रुपेश भारतीय सुटर भनिएका सुजितकुमार सिंह समूहका सदस्य हुन् । अजितलाई गोली प्रहरी गर्दा सुजित र रुपेशसंगै रहेको प्रवक्ता न्यौपानेको भनाई छ । प्रहरीले यसअघि पुष १० गते सुजितलाई खुट्टामा गोली प्रहार गरी बाराको बिश्रामपुरबाट नियन्त्रणमा लिएको थियो ।भारत मोतीहारीका सुजितमाथि कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या गरेको आरोप छ । सर्राफको कार्तिक १३ गते कलैयाको सडकमा गोली प्रहार गरी हत्या भएको थियो ।सर्राफ हत्या प्रकरणमा जिल्ला अदालत बाराले ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

















