पुष्पराज खतिवडा
बारा,बाराको जिल्लाको उत्तरी क्षेत्रका ग्रामिण वस्तीहरुमा घरैपिच्छे जसो गलैंचाका तान भेटिन्छन् । गलैंचा उद्योग स्थानीयको घर खर्चको बलियो माध्यम बनिरहेको पेसामा संलग्नहरु बताउँछन् । कतिपयले गलैंचाबाटै मनग्य आम्दानी समेत गरिरहेको बताएका छन ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बंकुलका बिक्रम र सुनमाया भोलन दम्पतीले गलैंचा बनेर मासिक ३०÷३५ हजार रुपैंया कमाउने गरेको बताए । फुर्सदको समयमा तानमा बस्ने गरेको सुनाउँदै भोलन दम्पतीले पुरै समय दिनसक्दा अझ बढी कमाई हुने सुनाए ।

उनीहरु आफुले बनेको गलैंचा काठमाण्डौंमा रहेका दिदि भिनाजुलाई बेच्छन् । आफुमात्रै नभएर गाउँमा अरु धेरैलाई गलैंचाका लागि चाहिने तान, धागो र औजारहरु दिने गर्दा रहेछन् । “हाम्रो माध्यमबाट गाउँमा ५० वटा भन्दा बढी घरमा गलैंचाका तान लागेका छन् । उहाँहरुले उत्पादन गर्ने गलैंचा हाम्रै माध्यमबाट काठमाण्डौंसम्म पुग्छ । आवश्यक धागो तान लगायतका सामाग्री र गलैंचाको रकम समेत त्यसैगरी आउँछ ।” बिक्रमले बताउनुभयो ।जाँगर भएका र फुर्सदिलाहरुका लागि यो पेसा आम्दानीको बलियो माध्यम बनिरहेको छ । विशेष गरी तामाङ्ग समुदायका माहिलाहरु गलैंचा बुन्ने पेसामा जोडिएर आम्दानी गरिरहेका छन् । कतिपयका दम्पती नै संलग्न छन् भने कतिपयका श्रीमान् विदेशमा कमाउने श्रीमतीले घरमै गलैंचा बुनेर घर खर्च चलाउँने गर्दै आएको पाईएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरकी चिन्क लामाका पती बैदेशिक रोजगारीका क्रममा देश बाहिर हुनुहुन्छ । उहाँले घरमा गलैंचा बुनेसँगै अन्य चारजनालाई रोजगारी दिनुभएको छ । मेरो कमाईले घरखर्च राम्ररी चलेको छ । पतीले पठाएको पैसा जोगिँदा आँटेका काम गर्न, कर्जा तिर्न र बालबालिकाको शिक्षामा खर्च गर्न सहज भइरहेको लामाले बताउनुभयो ।
यस्तै सोही ठाउँका अमर लामा भनिने पासाङ्ग थिङ्ग तामाङ्गले घरमै साना ठुला गरी ८ वटा गलैंचाका तान चलाउदै आउनुभएको छ । स्थानीय महिलाहरुलाई गलैंचा निर्माणमा लगाउँदै धेरैलाई रोजगारी समेत दिँदै आएको उहाँले बताउनुभयो । उहाँले सोही पालिकाको जैतापुर, लामिडाँडा, रामनगर, सिमरा मात्रै नभएर कोल्हबी नगरपालिकाको वडा नम्बर ८ नयाँबस्ती, निजगढ नगरपालिकाको वडा नम्बर १३ रतनपुर, कुलियामा समेत गलैंचा व्यवसाय गरिरहेको सुनाउनुभयो ।बारामा ७ सयभन्दा बढी परिवार गलैंचा व्यवसायमा जोडिएका छन् । यहाँबाट मासिक दसौं लाखको गलैंचा बिक्री हुने गरेको अनुमान उहाँले सुनाउनुभयो ।

‘मेहनत गर्नसक्दा महिनाको ५०÷६० हजार रुपंैया कमाई हुन्छ । गलैँचाका लागि आवश्यक धागो, तान, उपकरण सबै लगानी साहुले गर्छन् । हाम्रो काम बुन्ने मात्रै हो । जति छिटो बन्न सकियो, त्यति नै धेरै कमाई हुने पनि हो । अझ बुट्टेदार अनि आकर्षक गलैचा बनाउँन सके झनै बढी कमाइ हुन्छ ।’ तामाङ्गले भन्नुभयो ।उहाँकाअनुसार ग्रामीण क्षेत्रमा उत्पादन हुने गलैंचाको बजार काठमाण्डौं हो । यहाँ गाउँघरबाट बनेर आएका गलैंचालाई थप आर्कषक र बिक्री योग्य बनाएर विदेश पठाउने गरिन्छ । नेपालमा उत्पादन हुने गलैंचाको मुख्य बजार चीन भएको तामाङ्गले सुनाउनुयो ।

Leave a Reply