कलैया,फागुन २१ गते हुने निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।शुक्रबार एक कार्यक्रमका बीच विभिन्न स्थानमा कार्यालयहरू सञ्चालनमा ल्याइएको हो ।
बारा क्षेत्र नम्बर १ को कोल्हवी नगरपालिका, क्षेत्र नम्बर २ को महागढीमाई नगरपालिका, क्षेत्र नम्बर ३ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ४ को राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र नितनपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय बाराले जनाएको छ । निर्वाचन आयोगले यसअघि नै बाराका चारवटै क्षेत्रका लागि निर्वाचन अधिकृतहरू खटाएको थियो ।
जसअनुसार क्षेत्र नम्बर १ मा शम्भुकुमार बस्नेत, क्षेत्र नम्बर २ मा किरणकुमार सिंह, क्षेत्र नम्बर ३ मा प्रकाश अधिकारी र क्षेत्र नम्बर ४ मा गम्भीर घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।
बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश अधिकारीलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर ३ को दोहोरो जिम्मेवारी दिइएको छ ।
कार्यालय स्थापनासँगै क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत गम्भीर घिमिरेले आफ्नो मुख्य उद्देश्य स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु रहेको बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार बारामा कुल मतदाताको सङ्ख्या ४ लाख ६५ हजार ७६५ पुगेको छ ।

















