कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिका– ५ सानोबाघमोर्चास्थित हुलाकी सडकमा मङ्गलवार दिउसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।वीरगञ्जजबाट ठोरीतर्फ आउँदै गरेको ना ५९ प ६३९२ को मोटरसाईकल ठोरीबाट वीरगञ्ज जाँदै गरेको मधेस प्रदेश ०३–००२ स ७६४ नम्बरको मालसामान बोक्ने अटोमा ठोक्किदा गम्भीर घाइते बनेका अन्दाजी २५ वर्षीय ठोरी गाउँपालिका वडा नम्बर २ का रोशन खवासको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक खवास ठोरी– २ सुन्दरवस्तीका स्थायी बासिन्दा रहेको विजयवस्ती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्म उप्रेतीले जानकारी दिनुभयो ।दाहिने खुट्टा र हात तथा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उपचारको लागि पठाइएका खवासको वीरगञ्ज स्पर्स हस्पिटलमा मृत्यु भएको प्रहरी चौकी बिजय बस्तीका प्रहरी सहायक निरीक्षक उप्रेतीले बताउनुभयो ।
तीव्र गतिमा आइरहेको मोटरसाइकल अनियन्त्रित भएर अटोमा ठोक्किदा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । मृतकको शव पोस्टमार्टमको लागि वीरगञ्जमा राखिएको र ठक्कर दिने अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी सहायक निरीक्षक उप्रेतीले जानकारी दिनुभयो ।



















