कलैया,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलनमा निर्वाचन आयोगको अपेक्षा विपरीत बारामा निकै कम सहभागिता देखिएको छ ।असोज १० गतेदेखि सुरु भएको अभियानको झन्डै डेढ महिनामा बारा जिल्लामा जम्मा २ हजार ७ सय ७ जना नयाँ मतदाता मात्र थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाराको तथ्याङ्क अनुसार, डेढ महिनाको अवधिमा १ हजार ७ सय ५४ पुरुष र ९ सय ५३ महिला गरी कुल २ हजार ७ सय ७ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका हुन् । कार्यालयले अभियानको सुरुवाती चरणमा ३० कात्तिकसम्म पाँच हजारभन्दा बढी नयाँ मतदाता थपिने प्रक्षेपण गरेको थियो । तर, मतदाता नामावली दर्ता गर्न अब करिब १३ दिन मात्र बाँकी रहँदा ठूलो सङ्ख्यामा मतदाता दर्ता हुन बाँकी छ ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि गठन भएको अन्तरिम सरकारले फागुन २२ गतेको लागि निर्वाचन मिति तोकेको थियो । सोही अनुसार आयोगले असोज ९ गतेदेखि अनलाइन प्रि–रजिस्ट्रेसनसहित मतदाता नामावली सङ्कलन पुनः सञ्चालन गरेको हो ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनकारीको मागअनुरूप संसद् विघटनको सिफारिस गरेपछि निर्वाचनको मिति निर्धारण भएको थियो ।जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीले दसैँ, तिहार र छठजस्ता चाडपर्वका कारण मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या कमी भएको हुनसक्ने अनुमान गर्नुभएको छ । कार्यालयले जनशक्ति थप गरेर नामावली दर्ताको काम गरिरहेकोले आगामी दिनमा संख्या बढने उहाँको भनाई छ ।“एक जना मात्र कम्प्युटर अपरेटर रहेको कार्यालयमा जनशक्ति थपेर दुई स्थानबाट मतदाता नामावली दर्ता गरिरहेका छौँ,” उहाँले भन्नुभयो । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो ।चौधरीका अनुसार, अन्य जिल्लाका बासिन्दाले पनि बाराको निर्वाचन कार्यालयमा पुगेर सहजै नाम दर्ता गर्न सक्नेछन । उहाँले मतदाता नामावलीमा नाम छुटेका र उमेर पुगेका जिल्लावासीलाई मतदाता नामावलीमा नाम दर्ता गराएर मतदानको अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।

















