वीरगन्ज,छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल–भारत नाका सिल गरिएको छ ।

आगामी पुष ३ गते अर्थात आइतबार त्यहाँ हुन लागेको प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त बिहिवार दिउँसोदेखि वीरगन्ज–रक्सौल नाकासहित विहार राज्यसँग जोडिएका सम्पूर्ण नाकाहरु सिल गरिएको हो ।

पूर्वसूचना बिनानै बिहिवार दिउँसोदेखि भारतीय प्रशासनले वीरगन्ज–रक्सौल नाका अचानक सिल गर्दा स्थानीयहरुलाई सास्ती भएको छ । सवारीसाधन ओहोर दोहर नहुँदा दुवै तर्फका स्थानीय र नेपाल प्रवेश गर्न लागेको मालवाहक सवारीसाधन पनि नाका पारी नै अवरुद्ध बनेको स्थानीयले गुनासो गरेका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार भारतीय पक्षले आफूहरुसँग समन्वयनै नगरी नाका सिल गर्दा समस्या भएको हो । उहाँले आइतबार निर्वाचन सम्पन्न भएपश्चात मात्र नाका खोलिने जानकारी दिनुभयो ।

‘हामीलाई कुनै सूचना नै नदिइ भारतीय पक्षले दुवैतर्फबाट सवारीसाधन प्रवेशमा बिहीवार दिउँसोदेखि अचानक रोक लगायो । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावाससँग समन्वय गर्दा ७२ घण्टा अगाडि बोर्डर सिल हुने भनेर सूचना प्राप्त गर्यौं । थप समन्वय गरेर नाकालाई केही घण्टाका लागि सहज गर्न आग्रह गरेका छौं ।

साधारण सवारीसाधन प्रवेशमा रोक लागे पनि अत्यावश्यक सामग्री बोकेका गाडी भने निर्वाध रुपले प्रवेश गर्न मिल्ने उहाँले प्रष्ट पार्नुभयो ।

Leave a Reply