राजकुमार यादव
मौलापुर,रौतहटको गढीमाई नगरपालिकालाई सोमवार एक विशेष समारोहबीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले गढीमाईलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव र जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक अधिकृत अनिल कर्णले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख यादवले गढीमाई नगरपालिका प्रमुख श्याम प्रसाद यादवलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा नगर प्रमुख साहले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।कार्यक्रममा उपनगर प्रमुख स्मिताकुमारी यादवले सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र साहले बताउनुभयो ।पालिकामा ३ वटा स्वास्थ्य चौकी तथा ६ वटा दुईवटा अधारभूत स्वास्थ्य चौकी रहेका छन् । साविकको समनपुर, धर्मपुर, मदनपुर, गम्हरिया पर्सा, बरियारपुर र संग्रामपुर गरी पाँच वटा गाविसहरू समेटेर गढीमाई नगरपालिका बनेको हो । यस पालिकाभित्र हाल ९ वटा वडा रहेका छन् ।

उक्त कार्यक्रममा गढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, प्रशासन शाखा प्रमुख नागेन्द्र राय यादव, समाजिक विकास शाखा प्रमुख हरेन्द्र साह तथा ९ वडाका वडाध्यक्ष लगायत डब्लु. एच. ओ.का प्रतिनिधि आशा चौधरी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।रौतहटका १८ पालिका मध्ये हालसम्म १७ वटा पालिका पूर्णखोप घोषणा सम्पन्न भएको छ भने कटहरिया नगरपालिका पूर्ण खोप घोषणा जेष्ठ २ गते हुने कार्यक्रम निर्धारण भएको छ ।

Leave a Reply