कृष्ण मोहन साह
सेढवा,पर्सामा अबैध गाँजा खेती गर्न प्रहरी प्रशासनले रोक लगाएपछि आयाआर्जनको लागि ग्रामीण क्षेत्रका किसानहरु बदाम खेतीतर्फ आकर्षित बनेका छन ।जिल्लाको महादेवपट्टी, सुवर्णपुर, भिस्वा, पिडारी गुठी, लङ्गडी, सम्भौतालगायतका स्थानहरुमा किसानहरुले बदाम खेती गरेका हुन ।
बिगत केही वर्षदेखि वातावरण परिवर्तनसंगै बढदो वन विनाशले ग्रामीण भेगमा खोला नाला सुक्दै गएपछि सुख्खाका कारण किसानहरुले विभिन्न बाली लगाउन थालेका छ्न । जसमध्ये बदाम खेती एक प्रमुख खेती बन्दै गएको छ ।अहिले महादेवपट्टीमा मात्र करिब ३० बिघाभन्दा बढि जमिनमा यो खेती गरिएको छ । सुख्खा जमिन र पानी नजम्ने बलौटे माटो भए पनि राम्रो सप्रिने गरेको स्थानीय किसान प्रेम दासले बताउनुभयो ।
यो बालीबाटप्रति कठ्ठा २० देखि तिस हजारसम्म आम्दानी गर्ने गरेको दासले सुनाउनुभयो । खेतमा एक बाली धान र दुई बाली बदाम निकाल्ने गरेको उहाँले बताउनुभयो ।बदाम खेतीमा धेरै मलको आवश्यकता पनि नपर्ने र उत्पादन भएको झारपातलाई नै कुहाएर राम्रो कम्पोष्ट मल तयार पारी सोही मल प्रयोग गर्ने गरेको अर्का किसान हेमन दहितले बताउनुभयो । बदाम खेतीमा किटनासक औषधिको समेत प्रयोग गर्न नपर्ने भएकोले न्यून खर्चमा धेरै आम्दानी लिने गरेको किसानहरुले बताएका छन ।



















