वीरगन्ज,राष्ट्रिय बाल दिवसको अवसरमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा बुधवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सामुदायिक आँखा अस्पताल वीरगन्ज, रुंगटा वैलफेयर सोसाइटी र प्रभु हस्पिटलको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवास्थित काशी विश्वनाथ कलोनीमा रामगढवा एकता युवा क्लबको समन्वयमा शिविर सम्पन्न गरिएको हो ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका संस्थापक स्व. टिपु खेतानको स्मृतिमा सम्पन्न शिविरमा ३ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये १ सय ५ वर्षकी बृद्धासहित १ सय २० जना महिलाले मात्रै आफ्नो स्वास्थ्य परीक्षण गराएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा भारतीय महावाणिज्य दुतावास वीरगन्जका प्रमुख नितेश कुमार, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेल, प्रहरी नायब उपरीक्ष दिपक गिरी, बोर्डर आउट पोस्ट सिरसियाका सहायक प्रहरी निरीक्षक तिर्थराज न्यौपाने, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा, रुंगटा वैलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, प्रभु हस्पिटलका बालरोग विशेषज्ञ डा. असलम अन्सारी, सामाजिक अभियानता प्रकाश थारु लगायतको उपस्थिति रहेको व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी दिनुभयो ।