कलैया,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा केरा र डेरी जोनको लागि पालिका छनौट गरेको छ । जसअनुसार निजगढ नगरपालिकालाई केरा जोनको लागि छनौट गरिएको छ । परियोजनाले बाराका स्थानीय तह र सरोकारवाला निकायसंग नीति तथा कार्यक्रम कार्यान्वयनको लागि आयोजना गरेको समन्वय बैठकले निजगढ नगरपालिकालाई केरा जोनमा छनौट गरेको हो ।

बैठकले निजगढलाई डेरी जोनको लागि पनि छनौट गरेको छ । कृषि ज्ञान केन्द्र कलैयाको सभाहलमा भएको बैठकबाट कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका पनि डेरी जोनमा परेका छन् ।

त्यस्तै समन्वय बैठकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइको डेरी जोनको कार्यालय कलैयमा र केरा जोनको कार्यालय निजगढमा स्थापना गर्ने निर्णय गरेको छ । कृषि ज्ञान केन्द्र बाराका विज्ञ डा. सुरेन्द्र यादवले केरा र डेरी जोनको छनोटबाट कृषकको उत्पादन लागत घट्ने, बजारीकरणमा सहयोग पुग्ने र कृषकलाई फाइदा हुने बताउनुभयो । उत्पादनको दृष्टिकोणले अग्रस्थानमा रहेका स्थानीय तहलाई केरा र डेरी जोनको रुपमा छनौट गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला समन्वय समिति बाराका सभापती नवल किशोर सिंह, बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव सहित १६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु तथा कृषि ज्ञान केन्द्र बाराका कर्मचारीहरुको उपस्थिति रहेकोे थियो । नेपालमा उत्पादन पर्याप्त नभएकाले भारत तथा युरोपियन मुलकबाट ठुलो परिमाणमा केरा र दुध आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here