सिमरा,हिमालयन डिष्ट्रिलरी प्रालिमा आधिकारिक ट्रेड युनियनका लागि सोमवार भएको निर्वाचनमा नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन (व्हिन) बिजयी भएको छ । नेपाली कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघलाई १२ मतको मतान्तरले पराजित गर्दै व्हिन बिजयी भएको हो ।वीरगन्ज महानगरपालिका १८ स्थित उद्योगको आधिकारिक ट्रेड युनियका लागि समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) र नेपाल कारखाना श्रमिक संघबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
कुल एक सय ८१ श्रमिक मतदाता सहभागी भएको निर्वाचनमा व्हिनले ९४ र श्रमिक संघले ८२ मत प्राप्त गरेको थियो ।
निर्वाचित भएसंगै एमाले निकट व्हिनले बिजय ¥याली निकालेको थियो । ¥यालीपछि आयोजित सभालाई व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामी, जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा, सचिव मुक्ति चौधरी, व्हिन प्रदेश उपाध्यक्ष रामतप्सी पटेल, निर्वाचित अध्यक्ष ज्ञानेन्द्र पटेललगायतले शुभकामना मन्तब्य राखेका थिए । बिजयी सभाको सहजीकरण दीपक बास्कोटाले गर्नुभएको थियो ।निर्वाचन प्रक्रिया श्रम तथा रोजगार कार्यालय, पर्साले सम्पन्न गरेको थियो ।


















