निजगढ,स्मार्ट सिटी कार्यक्रम अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर ७ मा निर्माण भएको सडकको मर्मतसम्भार तथा सरसफाइ कार्य शुरु भएको छ ।वडा नम्बर ७ को योजना टोल, भ्याकुरे र माझी टोल क्षेत्रको सडकको मर्मत र सरसफाइ थालिएको हो ।
मुख्य सडक निर्माण भएको लामो समय पुरा भइसक्दा पनि निर्माण कम्पनीले फुटपाथ क्षेत्रमा मापदण्डअनुसार काम नगरिएपछि वडा नम्बर ७ वडा समितिका सदस्य दिलबहादुर थापा मगरको पहलमा निर्माणसंगै सरसफाइ कार्य शुरु भएको हो । निजगढ नगरपालिका कार्यालयसंग भएको संझौता अनुसार कम्पनीले यसअघि सडकमा अनियमित रुपमा सोलार बत्ति जडान गरेपछि वडा सदस्य थापामगरको सक्रियतामा मापदण्डअनुसार बत्ति जडानको काम समेत पूरा गर्न लगाइएको बताइएको छ ।
आफूहरुले लगातार दिदैआएको दवाव स्वरुप निर्माण कम्पनीले हाल मापदण्डअनुसार सोलार बत्ति जडान गरेर सरसफाइ तथा बाँकी काम थालेको उहाँले बताउनुभयो । कम्तिमा ५०-६० मिटरको दुरीमा पोल गाढेर राख्नुपर्ने प्रावधान रहेपनि कम्पनीले १ सय ५० देखि २ सय मिटर टाढासम्म बत्ति राखेपछि स्थानीयले विरोध गर्दैआएका थिए ।
काठमाण्डौंको बज्रगुरु निर्माण कन्ट्रक्शन कम्पनीले निजगढ ९ को तेर्सो लाइन, वडा नम्बर ७ को भ्याकुरे टोल, योजनाटोल चौतारा र माझी टोलबाट वडा नम्बर ६ को गणेश मन्दिरसम्मको करिव ७ किमी लामो सडकमा स्मार्ट सिटीको अवधारणा अनुसार फुटपाथसहित कालोपत्रे सडक र सोको किनारामा सोलार बत्ती जडान कार्य गरेको हो ।यसैबीच सडकको फुटपात क्षेत्रको सरसफाइ र मर्मत कार्य शुरु भएकोले घर अगाडि सडकमा राखिएको काठपात, ईटा, ढुङ्गा, बालुवा जस्ता निर्माण अन्य सामग्री हटाएर सरसफाइ कार्यमा सहयोग गरिदिन पनि वडा सदस्य मगरले सर्वसाधारणसंग आग्रह गर्नुभएको छ ।

















