गोकुल घोरसाइने
निजगढ,एक साताअघि बाराको निजगढको एउटा वर्कशपमा भएको विष्फोटनको घटनामा परेर ज्यान गुमाएका श्रमिकहरुको परिवारका सदस्यहरु यतिबेला हातमुख जोड्ने चिन्ताले पिरोलिन थालेका छन ।‘छोराछोरी सानै छन, खेतबारी पनि छैन, ३ जनाको ज्यान लिने गरी भएको बिष्फोटमा परेर ज्यान गुमाएका मध्ये रेशम मगरकी श्रीमती सीतादेबीले भन्नुभयो, लालाबालाको पालन पोषण कसरी गर्ने होला भन्ने चिन्ताले सताउन थालेको छ ।’ परिवारको लागि कमाउने मुख्य मान्छै नै नभएपछि आफूहरु सहारा विहिन बनेको उहाँले सुनाउनुभएको छ ।
निजगढ ७ स्थित रोहित वर्कशपमा गत सोमवार भएको विष्फोटले रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ का लखिन्द्र बैठाको परिवारमा पनि उस्तै पीडा दिएको छ । वर्कशपमा मजदुरी गरेर घरखर्च धान्दै आएका वर्ष १८ का रिपु रजक धोबीको विष्फोटले ज्यान लिएपछि लखिन्द्रको परिवारको पनि सहारा गुमेको छ ।‘उसैको एक्लो कमाइबाट परिवार चलेको थियो, रिपुका बुबा ४५ वर्षिय लखिन्द्रले भन्नुभयो, अब हाम्रो पनि बिचल्ली नै हुने भयो ।’ रेशमको वर्कशपमा १ वर्षदेखि काम गर्दै आएका रिपुले तलब बापत मासिक १८ हजार बुझ्ने गरेका थिए । सोही तलबले उनको ६ जनाको परिवार चलेको थियो । ‘रिपु व्यवहारमा मितव्ययी, मिजासिला र काममा पनि भरपर्दा थिए, वर्कशपमा संगै काम गर्ने रिपुका साथी जीतपुरसिमरा १९ इनर्वासिराका सर्कराज अन्सारीले भन्नुभयो, ‘घरमा खाँचो छ भन्थ्यो र तलबको पैसा बचाएर सधै आमाबुबालाई नै पठाउथे ।’ उनको परिवारमा बुबाआमा सहित १३ वर्षिय एउटा भाई र साना साना २ बहिनी छन । रेशमले ३ जना कामदार राखेर १८ वर्षदेखि आफैले वर्कशप चलाउदै आएका थिए ।
घटनामा ज्यान गुमाउने राकेश जैसवाल भने भारतीय नागरिक हुन । भारतको विहारस्थित मोतिहारी घर भएका ३५ वर्षिय राकेशले गाउँमा डुलेर कवाड सामान संकलन गर्ने काम गर्दै आएका थिए । उनले निजगढ ९ मा रहेको रमेश जयसवालकोे पसलमा ल्याएर कवडाका सामान बिक्री गर्ने गरेका थिए । श्रीमतीसहित निजगढमा बस्दैआएका राकेशका २ छोरी छन । उनीहरु निजगढकै एउटा विद्यालयमा पढथे । तर राकेशको मृत्युपछि उनीहरु भारततर्फ नै लागेका छन । राकेश र कवाड पसले रमेशले भित्र रहेको भनिएको तामा र पित्तल काटेर निकाल्न भनेर रोहित वर्कशपमा पुर्याएको सो विष्पोटक पदार्थ ग्यास बेल्डिङ्ग मेसिनले काटने क्रममा विष्फोट भएको थियो । विष्फोटनमा परेर ३ जनाको उपचारको क्रममा ज्यान गएको थियो भने थप ३ जना घाइते भएका थिए ।प्रहरीले हालसम्म पनि उक्त विष्फोट भएको बस्तु के थियो भन्ने बारेमा यकिन भइनसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानलेले घटनास्थलमा फेला परेको सो बस्तुको अवशेष र अन्य केही सबुदहरु परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौंमा पठाइएको र रिपोर्ट प्राप्त भएपछि मात्रै सो बारेमा यकिन हुने बताउनुभयो ।
अनुसन्धानको क्रममा प्रहरीले कवाड पसलका मालिक राज भनिने रमेश जयसवाल, निजगढ– ९ का ना ५ ख ९८२७ नम्बरको ट्रकका चालक बासु लामा र सोही ठाउँ घर भएका ट्रकका सहचालक २६ वर्षीय टिकाराम पाख्रिनलाई हिरासतमा लिएको नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । चालक बासुले धनुषाको धारापानीको एउटा कवाड पसलबाट लोड भएको उक्त विष्फोटक पदार्थ ट्रकमा राखेर बाराको सिमरास्थित अशोक स्टिल कारखानामा लैजाने क्रममा निकालेर आफ्नो घरमा राखेका थिए । चालक लामाले बिक्री गर्न भनेपछि पाख्रिनले कवाडी पसलेलाई बिक्री गरेको बस्तु वर्कशममा लगेर काटने क्रममा विष्फोट भएको थियो ।

मृतकको नाम, थर र ठेगाना सच्याउन माग
घटनापछि प्रहरीले दिएको मृतकको नाम, थर, ठेगाना र उमेर पनि नमिलेको भन्दै मृतकका आफन्तले ंसच्याउन माग गरेका छन ।विष्फोटनमा ज्यान गुमाउने मध्ये देवाही गोनाहीका १८ बर्षिय रिपु रजक धोबीको नाम, थर, ठेगाना र उमेर समेत फरक परेको भन्दै आफन्तले प्रहरीसंग सच्याउन आग्रह गरेका हुन ।घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको घाइते तथा मृतकको विवरणमा रिपुको नाम ऋतु रजक, उमेर २० वर्ष र ठेगाना वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ उल्लेख थियो । वर्कशपसंगै कोठा भाडामा लिएर बस्दै आउनुभएकी रिपुकी सानीआमा सुशिला धोबीले प्रहरीले आफूहरुसंग सम्पर्क नै नगरी तयार पारेकाले विवरण फरक परेको बताउनुभयो । वर्कशप संचालक अर्का मृतक रेशमको साडु भाइका छोरा रिपु १ वर्षअघिदेखि रेशमकै घरमा बसेर वर्कशपमा काम गर्दैआएका थिए ।
घटनामा घाइते अरबिन्द्र साहको पनि उमेर फरक परेको आफन्तले जनाएका छन । प्रहरीले १३ वर्षका अरबिन्द्रको उमेर २० वर्ष उल्लेख गरेको छ । भारतीय नागरिक अरबिन्द्र भिनाजु महेन्द्र साहको वर्कशपका बेल्डिङ्गको काम सिक्ने क्रममा १ महिनाअघि मात्रै निजगढ आएका हुन । महेन्द्रले पनि रेशमको संगै छुट्टै वर्कशप चलाउदै आएका छन । घटनाको समय महेन्द्र भने काम परेर वीरगञ्ज गएका थिए ।
उपचारमा आर्थिक अभाव
खर्च अभावले विष्पोटमा घाइेत भारत रामघडवाका १३ वर्षका अरबिन्द्र साहको उपचारमा समस्या भएको आफन्तले बताएका छन । ‘३÷४ लाख रुपैया खर्च भइसक्यो, अरबिन्द्रका भिनाजु निजगढ ९ का महेन्द्र साहले भन्नुभयो, कतैबाट सहयोग पाइएको छैन, ऋणधन गरेर उपचार गराएका छौं ।’ उहाँले खर्च अभावकै कारण वीरगञ्जको बयोधा अस्पतालबाट निकालेर अरबिन्द्रको हाल नेशनल मेडिकल कलेजमा राखेर उपचार थालिएको जानकारी दिनुभयो । कम खर्चमा उपचार हुने भएपछि चिकित्सककै सल्लाहामा अर्को अस्पतालमा राखेर उपचार शुरु गरेको बताउनुभयो । गम्भीर घाइते साहको दायाँ हात र बाँया खुट्टा काटिएको छ । उनकोे अवस्थामा शुक्रवारबाट केही सुधार आएको साहले जानकारी दिनुभएको छ ।अन्य घाइते भने उपचारपछि घर फर्किएका छन ।


















