सिमरा,सिमरामा प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।मोरङ उर्लाबारीस्थित एन्जेल फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त तालिममा बारा र रौतहट जिल्लाका विभिन्न सहकारी तथा संघसंस्थाबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा दुर्घटना, सर्पदंश, आगलागी, उच्च वा न्यून रक्तचाप, डुब्ने जस्ता आपतकालीन घटना आदिमा अपनाउनुपर्ने प्राथमिक उपचारका उपायहरूको विस्तृत जानकारी प्रदान गरिएको थियो । एन्जेल फाउन्डेसनका कार्यकारी प्रमुख जय सिंह राजवंशीले प्रशिक्षण दिर्नुभएको थियो ।

फाउन्डेसनका मार्केटिङ म्यानेजर सुशान्त पाठकले प्राथमिक उपचारको आवश्यकता र औचित्यबारे चर्चा गर्दै यस्तो तालिम समुदायस्तरमा अनिवार्य हुनुपर्ने धारणा राख्नुभयो । संस्थाका प्रबन्ध निर्देशक सन्तोष कार्कीले वित्तीय साक्षरता, ऋण व्यवस्थापन तथा पैसाको सही उपयोगबारे सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साहले गर्नुभएको थियो । साहले प्राथमिक उपचारसम्बन्धी ज्ञानको अभावका कारण धेरै व्यक्तिले अकालमै ज्यान गुमाउनु परेको उल्लेख गर्दै यस्तो तालिमले जीवन रक्षामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
एन्जेल फाउन्डेसनका कार्यकारी प्रमुख राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण फाउन्डेसनकी सिनियर असिस्टेन्ट अनिषा घिमिरेले गर्नुभएको थियो ।एन्जेल फाउन्डेसनले समुदाय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै आकस्मिक स्वास्थ्य समस्याको न्युनीकरण, गोप्य रोगबाट उत्पन्न जटिलता हटाउने, शहरी क्षेत्रका डाक्टर तथा मेडिकल टिमलाई गाउँसँग जोड्ने लगायतका कार्य गर्दै आएको जनाएको छ ।



















