शुक्रवार नेपालको प्रतिनिधि सभा बैठकमा रोचक दृश्य देखियो । लामो समय सरकारको हालीमुहाली गरेको नेपाली काँग्रेस अहिले प्रतिपक्षमा छ । उसले सदनमा देखाएको दृश्य निकै रोचक थियो ।काँग्रेसले विशेष गरी हालै उदयमान भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती एवंम गृहमन्त्री रवि लामिछाने लक्षित विरोध गरेको थियो । आफू सरकारमा रहँदा सबै ठीक देख्ने अनि सरकार बाहिर रहेपछि एउटा एउटा बखेडा शुरु गर्ने काँग्रेसको पुरानै बानी हो । शुक्रवारको सदनमा काँग्रेसले यसैको पुनरावृत्ति गरेको छ ।

यहाँ सहकारी प्रकरणमा रास्वपाका सभापतीसमेत रहेका गृहमन्त्री लामिछानेलाई निर्दोष पनि बनाउन खोजिएको होइन तर सदनमा काँग्रेसले देखाएको व्यवहार र उसले पढाउन खोजेको नैतिकताको पाठ भने गज्जबको छ । आफू सरकारमा रहँदा भएका भ्रष्टाचारको फाइल खोल्ने हो भने नेपाली काँग्रेस एकदमै थोरै मात्र नेताहरु चोखा देखिनेछन् । धमिरा काण्ड, लाउडा काण्ड, काँग्रेसको पालामा यो देशमा काण्डभन्दा अरु केही भएका छैनन् ।

तैपनि आज सदनमा काँग्रेस अरुलाई नैतिकताकको पाठ सिकाउने अवस्थामा आएको छ । अरु पार्टीको फरक कुरा भएपनि काँग्रेसले नैतिकताको पाठ सिकाएको पटक्कै सुहाउदैन । त्यसो भन्दैमा काँग्रेसले विरोध नै नगरोस् पनि भन्न खोजिएको होइन तर सदनमा रविलाई बोल्न चैं दिनुपर्दछ । जसले पनि आफ्ना कुरा राख्ने ठाउँ भनेकै सदन हो । त्यही सदनमा आफ्ना कुरा राखुन भनेर नै जनताले सांसदहरुलाई मत दिएर पठाएका हुन् । बोल्न नदिने र बोल्न नपाउने भन्ने कुरा चैं लोकतान्त्रिक हुन सक्दैन ।

Leave a Reply