आम नागरिकहरुका लागि अलिक आश्चार्य जस्तो लागे पनि केही दिनको अभ्यासबाट अहिले फेरि नेपाली राजनीतिको कोर्स फेरिएको छ ।कुनै समय एक अर्काको सार्वजनिक स्थानमा गाली मात्रै गरेर नथाक्ने दलका नेताहरु फेरि एक ठाउँमा आएका छन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी ओली र समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा यो जुनीमा अब आउदैनन होला भनेर धेरैले अनुमान गरेको धेरै वर्ष पनि भएको छैन तर करिब तीन वर्षकै अवधिमा यस्तो गज्जबको राजनीति नेपालीहरुले देख्न पाएका छन ।
अब उनीहरुमा कति राजनीतिक इमान्दारीता रहेछ भन्ने कुरा त नेपाली जनताले नै मुल्यांकन गर्ने कुरा हो तर फेरि यिनीहरु एक ठाउँमा आउँदा अब देशमा काम गर्ने वातावरण चैं बन्नु पर्दछ । अनि केही दिन सत्तामा रहेर फेरि हटेका रास्वपाका सभापती रवि लामिछानेले पनि यही सरकारमा आएकाले अब एमाले, माओवादी र विशेष गरी रास्वपाले बाहाना गर्ने ठाउँ छैन । आम नागरिकहरुको जीवन स्तरको सवालमा उनीहरुले बनाउने नीति, लिने रणनीति निकै महत्वपुर्ण हुन आवश्यक छ ।
बाहिर बसेर गाली गरे जसरी अब सरकारमा गएर उनीहरुले काम देखाउन आवश्यक छ । जति दिन सरकारमा रहन्छन उत्ति नै दिन उनीहरुले देश र जनताको पक्षमा जनताले स्वावास भन्ने गरी काम गर्नुपर्दछ । अब यो वा त्यो बाहाना बानाउने हो भने नेपाली जनताले कसैबाट पनि आशा गर्ने ठाउँ रहन्न र देशमा पनि गलत गर्नेहरुकै हालीमुहाली हुदो रहेछ भन्ने कुराको पुष्टि हुनेछ । त्यसैगरी प्रधानमन्त्री दहालका लागि यो अन्तिम जस्तै अवसर हो भने अन्यका लागि यो सुनौलो मौका हो काम गरेर देखाउनका लागि । अब बाहाना होइन, जनताले अनुभूति गर्ने गरी काम गरेर देखाऊ ।
















