जर्मनका शासक हिटलरको कथा सबैले सुनेकै हो । हिटलरको जसरी उदय भयो र पतन पनि त्यसरी नै भएको थियो । सत्तामा पुगेपछि जो भएपनि आफूहरुलाई हिटलर नै साबित गर्ने कोसिसमा लाग्ने गरेको पाइन्छ ।नेपालको सन्दर्भमा हालै एउटा यस्तै घटना भएको छ । गत सोमवार काठमाडौंमा गौरा पर्व मनाउन भेला भएकाहरुमध्ये केहीले नेपाली काँग्रेस र एमालेका केही नेताका विरुद्धमा प्रर्दशन गरे, नाराबाजी पनि गरेका थिए । त्यसको दुई दिनपछि सरकारले धमाधमा ती व्यक्तिहरुलाई पक्राउ गरेको खबरहरु आएका छन् ।
पहिलो कुरो त नेपालमा नेताका विरुद्धमा विरोध गर्न वा नाराबाजी गर्न पाइदैन भन्ने कुरा संबिधानको कुन धारामा लेखिएको छ अनि दोश्रो कुरा, के अहिलेका नेताहरु साच्चिकै हिटलर हुन् वा हिटलरी शैली अपनाउन खोज्दैछन् ?
जनताले विरोध गरे भने सच्चिने कि जनतालाई नै गोली हान्ने ? एउटा उदार शासक कहिल्यै पनि जनतालाई दमन गर्न उद्दत हुदैन । हुन त विगतमा काँग्रेसका सभापती शेरबहादुर देउवाले यो हर्कत गर्नुभएकै हो । राजाको पालामा संकटकाल लगाएर मान्छे मार्ने काममा उहाँकै हात थियो । तर, अब यो शैली टिक्दैन । संसारका धेरै मै हुँ भन्नेहरुलाई पनि जनताले सत्ताबाट च्यूत गरेका धेरै उदाहरणहरु छन् ।
नेपालका प्रधानमन्त्री केपी ओली, सभापती देउवा, माओवादी अध्यक्ष प्रचण्ड वा अरु कसैले यस्तो खालको घमण्ड नगरे हुन्छ । जनताले आफ्ना विरुद्धमा नारा लगाए भने उनीहरुको कुरा सुन्ने हो मुख थुन्ने होइन । अहिलेको सरकारको रवैया गलत छ ।यदि विरोध गर्ने सबैलाई थुन्दै जाने हो भने नेपालका नेताहरुले पनि एकदिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको जस्तो नियति यिनीहरुले भोग्न नपर्ला भनेर भन्न सकिन्न ।
















