अहिले नेपालको प्रधानमन्त्रीको कुर्सीमा पुष्पकमल दहाल प्रचण्ड बिराजमान हुनुहुन्छ । प्रचण्ड, भनेको दश वर्षसम्म यो देशमा संसदीय व्यवस्थाको विरुद्धमा सशस्त्र संघर्ष गरेर आउनुभएको नेता हो । उहाँले यो व्यवस्थाको अन्त्यको लागि भन्दै सेना समेत तयार पार्नुभएको थियो ।
नेपालमा चल्दैआएको संसदीय राजनीतिको फोहोरिपन प्रचण्डको आवागमनले सुधार होला भनेर धेरैले अपेक्षा गरेका थिए तर प्रचण्ड संसदीय राजनीतिमा आएको डेढ दशकमा विगतमा कयौं वर्ष अगाडि नभएका घिनलाग्दा हर्कत समेत भएइका छन् । संसदीय राजनीतिको निकै घृर्णित उदाहरण समेत देखिएको छ ।
प्रचण्ड विगत करिब प्रन्ध महिनाभन्दा बढी समयदेखि सत्तामा नै रहेको अवस्था छ । यो बीचमा प्रचण्डको संसदीय गतिविधि मान्नै पर्ने खालकै छ । शुरुमा काँग्रेससंग गठबन्धनमा रहनु भएका प्रचण्ड अहिले एमालेसंग गठबन्धनमा हुनुहुन्छ र उहाँ सत्ता चलाउनका लागि सफल पनि हुनुहुन्छ ।
संसदको जम्मा ३२ सिट रहेको माओवादीलाई बोकेर हिड्नुु पर्ने के त्यस्तो खालको बाध्यता अन्य दलहरुलाई आइलाग्यो त्यो नेपाली जनताले अझै बुझ्न नसकेको कुरा हो तैपनि संसदीय राजनीतिमा प्रचण्ड भने सफल खेलाडी देखिनुभएको छ ।
अहिले भर्खरै प्रचण्डलाई सरकारबाट हटाउनका लागि केही खेल भइरहेको पनि रहिछ । जसपा नेपालको विभाजनपछि यो कुरा प्रष्टिएको हो । तर त्यो खेललाई असफल बनाउनका लागि प्रचण्डले अर्काको पार्टी नै फुटाइ दिएको आरोप लागि रहेको छ र यो सत्य पनि देखिन्छ ।सत्ताको स्वार्थका लागि प्रचण्डहरुले जे पनि गर्छन् भन्ने कुरा पछिल्ला केही दिनका राजनीतिक घटनाक्रमले थप पुष्टि गरेका छन् ।
















