निजगढ,निजगढ नगरपालिकाले पूर्वपश्चिम राजमार्गको बकैया पुलमुनि खोलामा निर्माण गरेको च्यानलाइज ड्याममा बुधवार रातिको बाढीले आंशिक क्षति पु¥याएको छ ।
नदीको धार पश्चिमतर्फ फर्काउन भनेर नगरपालिकाले लगाएको ड्यामको आधाभन्दा बढी भाग बगाएको हो । बुधवार राति अबेरसम्म काम गरेर बाँधलाई थप विस्तार र मजबुत पार्ने योजना बनाइएको भएपनि खोलामा बाढी आएपछि बुधवार साँझबाट नै काम रोक्नु परेको नगरपालिकाका इन्जिनियर नविन खनालले जानकारी दिनुभयो । उहाँले बाढी घटेपछि बिहीवार बिहानबाट च्यानलाइजको काम फेरि शुरु गरिने र नदीको धार पश्चिमतर्फ नै फर्काइने बताउनुभयो ।
२ दिनसम्म ३ वटा एक्साभेटर र टिपरको प्रयोग गरेर नदीको धार पश्चिम फर्काएको भएपनि राति ८ बजेतिर आएको बाढीले ड्यामको आधाभन्दा बढी भाग बगाएको नगरपालिकाका कर्मचारी रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार नगरपालिकाले आफ्नै स्रोतबाट खर्च गरेर बकैया नदी नियन्त्रण र च्यानलाईजको काम गर्दैआएको छ ।बकैया बाढी कटानले निजगढ ९ स्थित आर्यघाट र बस्तिसमेत जोखिममा परेपछि नगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठकमा निर्णय गरेर नदी च्यानलाईज गर्ने निर्णय गरेको काम शुरु गरेको थियो । नगरपालिकाले आर्यघाटमा बाढी नियन्त्रणको लागि स्पर निर्माण गर्ने काम पनि शुरु भएको जनाएको छ

















