काठमाण्डाै – नेपाली समाजमा ‘आमा पुज्ने औँसी’का रुपमा कहलिएको वैशाख महिनाअन्तर्गत कृष्णपक्ष औँसीका दिन मातातीर्थमा स्नान र पूजा गर्ने श्रद्धालुकाे जति भीड हुने गर्दछ, त्यतिकै भीड गोकर्णमा हुने कान्ति भैरवकाे जात्रामा पनि हुने गरेको छ । फरक यति छ कि मातातीर्थमा आमा कीर्तिशेष भइसकेका छोरा–छोरी आफ्नी जननीको स्मरणमा स्नान र पूजा गर्न पुग्ने गरेका छन् भने गोकर्णमा बिहान सखारै आम जनसमुदायले कान्ति भैरवलाई उनकी आमाको दर्शन, परिक्रमा साथै पूजा गराउन कोसेलीसहित जात्रा गरेर पुर्‍याइने गरिएको छ ।

काठमाण्डाै उपत्यकाभित्रका विभिन्न प्राचीन बस्तीमा देखिने गरेका वैभवपूर्ण सांस्कृतिक गतिविधि इतिहासको कुनै कालखण्डमा शुरु भए पनि ती सबै समयको गतिसँगै विभिन्न समयकालमा विकसित तथा परिमार्जित हुँदै आएको स्पष्ट छ । जन्मदायी आमा पुज्ने यी दुई सांस्कृतिक परम्पराले प्राचीन नेपाल मण्डल सभ्यताको सम्वेदनशीलता र भव्यता प्रदर्शन गरिरहेको छ ।

कचौरा जस्तो काठमाण्डाै उपत्यका खाल्डोको उत्तर–पूर्वी ईशान कोणमा रहेको गोकर्ण र दक्षिण–पश्चिम नैऋत्य कोणमा रहेको मातातीर्थबीचको दूरी वर्तमान शहरी यातायातले नाप्दा एक घण्टा १२ मिनेटको रहेको देखाइएको छ । जुन काठमाण्डाैकाे शहरी क्षेत्रलाई बीचबाट आधा भाग माथिबाट तलतिर छड्के काटिएको जस्तो देखिन्छ । गोकर्ण र मातातीर्थ; यिनै दुई प्राचीन बस्तीमा चल्दै आएका सांस्कृतिक परम्पराले स्नान गर्ने, आमा पुज्ने, आमाको मुख हेर्ने, परिक्रमा गर्ने, कोसेली लाने र चढाउने जस्ता संस्कृतिको महत्ता र गौरव मूर्त र अमूर्त रुपमा, मेला वा जात्राका रुपमा बढाइरहेको छ ।

Leave a Reply