मनोज शाह
जीतपुर,बारास्थित विभिन्न राजमार्गमा भइरहेको अवैध कर असुली तथा होटलहरूमा गैरकानुनी रूपमा सञ्चालन भइरहेका क्यासिनोविरुद्ध जेनज युथ (न्भलश थ्यगतज) ले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ ।जेनज युथ जीतपुरसिमरा उपमहानगरपालिका नगर कमिटीका तर्फबाट संयोजक राजबहादुरको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय कलैया पुगेर प्रमुख जिल्ला अधिकारी (सिडिओ) धमेन्द्र मिश्रसमक्ष ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा राजमार्गका विभिन्न स्थानमा अवैध रूपमा करको नाममा असुली धन्दा चलिरहेको तथा केही होटलहरूमा कानुनविपरीत क्यासिनो सञ्चालन भइरहेको बताइएको छ ।

विशेषगरी जीतपुरसिमराको इच्छा होटलमा अवैध रूपमा क्यासिनो सञ्चालन भइरहेको दाबी गर्दै त्यसले युवाहरूलाई गलत दिशातर्फ धकेलिरहेको र समाजमा नकारात्मक प्रभाव पारिरहेको जेनज युथको ज्ञापन पत्रमा जनाइएको छ । साथै, राजमार्गमा सवारीसाधन चालक तथा व्यवसायीहरूसँग जबरजस्ती असुली गरिँदा सर्वसाधारण मर्कामा परेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउँदै संयोजक राजबहादुरले अवैध क्यासिनो सञ्चालन तथा कर असुलीको धन्दा तत्काल रोक्न प्रशासनसँग कडा कदम चाल्न माग गर्नुभयो । उहाँले कानुनको पालना गराउँदै शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्न प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले ज्ञापनपत्र ग्रहण गर्दै विषय गम्भीर रहेको बताएको र आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने आश्वासन दिएको जनाइएको छ ।

Leave a Reply