वीरगञ्ज,सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा जाँच गर्दा सशस्त्र प्रहरी बल पर्साले पक्राउ गरेको जनाएको छ । स्रोत नखुलेको १० लाख रुपैँयासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता संगम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार वीरगञ्जको भन्सार एरियामा जाँच गर्ने क्रममा भारतीय नागरिकलाई पक्राउ गरिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एआर ८१०१ नम्बरको भारतीय मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको हो ।प्रहरीले भारतको पूर्वीचम्परण रक्सौल ७ अरुवाटोल बस्ने २३ वर्षीय उमेश यादवलाई पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रवक्ता श्रेष्ठले जनाउनुभएको छ ।


















