सरकारले करिब एक दशकअघि मधेस प्रदेशका सहितका जिल्लाहरुमा खुला दिसामुक्त अभियान संचालन गरेको थियो । यो अभियान अन्तरगत करोडौं रकम पनि खर्च भएकै हो । तर अभियान संचालन गरेर मात्रै यस्तो कुराले सार्थकता पाउन नसक्ने रहेछ भन्ने कुरा हालै सार्वजनिक भएको एउटा तथ्याङ्कले पुष्टि गरेको छ ।मधेस प्रदेशका जिल्लाहरुमा अझै पनि शौचालयको समस्या रहेको कुरा बाहिर आएको छ । सयांैं घरपरिवारले अझै पनि खुला स्थानमा दिसा गर्ने गरेको तथ्यांकले फेरि एक पटक सचेत नागरिकहरुलाई चिन्ता लागेको छ ।हुन त चिन्ता जसको घरमा शौचालय छैन उसले गर्न पर्ने हो तर बिडम्बना के छ भने अरुले चिन्ता गरिदिनुपर्ने अवस्था छ । शौचालय कसका लागि हो भन्ने कुरा स्वयम् व्यक्तिले बुझ्न आवश्यक छ । सफा र स्वच्छ जीवनका लागि शौचालय अति आवश्यक छ । खुला स्थानमा दिसा गर्दा सबै बेफाइदा मात्रै छन् । फाइदा केही छदै छैन । यो कुरामा पहिला सबै स्पष्ट हुन आवश्यक छ ।लाखौं नागरिकहरु मधेसमा अझै पनि खुला स्थानमा दिसा गर्छन् भन्नुको मतलब स्थानीय सरकारहरु पनि उत्तिकै अब दोषि हुनेछन् । खुला स्थानमा कम्तीमा दिसा गर्नबाट रोक लगाउनु नै पर्दछ । जस्तो सुकै नियम बनाएर भए पनि यसलाई नियन्त्रण नै गर्नु पर्दछ । जबसम्म यो बानी हट्दैछ तबसम्म सभ्य मधेश बन्नै सक्दैन ।
















