जनकपुरधाम, मधेस प्रदेश सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गर्नुभएको हो । विस्तारित मन्त्रीमण्डल १५ सदस्यीय बनेको छ ।मुख्यमन्त्री यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र आजपालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९)ं बमोजिम मन्त्रीपरिषद् पुनर्गठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन समेत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ ।जसअनुसार सरोजकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ मन्त्रालय, गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयको जिम्मा लगाइएको छ ।
यसैगरी सरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरूमा क्रमश अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।यसैबीच मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद साहले आफूलाई जिम्मेवारी दिएको वन तथा वातावरण मन्त्रीको जिम्मेवारी स्वीकार नगर्ने बताउनुभएको छ ।अर्थ मन्त्रालय लिने अडान लिएका माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मुख्यमन्त्री सरोजकुमार यादवले वन मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।साहले वन मन्त्रालयको जिम्मेवारी तोकिएको भए पनि आफूले स्वीकार नगर्ने बताउनुभएको छ ।

















