काठमाडौं,उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ । यसमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र भारतीय सेनाको टोली समावेश छ ।विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरबाट घटनास्थलको हवाई सर्वेक्षण गरेका छन् ।
एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भन्नुभयो, “प्रारम्भिक जानकारी अनुसार १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । चार जनाको मृत्यु भएको पुष्टी भएको छ र १०० भन्दा बढी मानिसहरूको मृत्यु भएको हुन सक्छ । उनीहरू बेपत्ता छन् ।”
डीआईजी शहेदीले भन्नुभयो – ‘स्थानीय प्रशासनले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।’ उहाँका अनुसार एनडीआरएफका तीन टोली घटनास्थलमा जाँदैछन् ।
घटनामा नौ जना भारतीय सेनाका सैनिक बेपत्ता भएको बताइएको छ । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले बीबीसी हिन्दीलाई भन्नुभएको छ, “धारालीको खीर गंगामा विनाशकारी भग्नावशेषपछि भारतीय सेना राहत र उद्धार कार्यमा संलग्न छ ।”
उहाँले भन्नुभयोे, “यस विपत्तिको बीचमा, १४ राजपुताना राइफल्सका कमान्डिङ अफिसर कर्नल हर्षवर्धनले १५० सिपाहीहरूसँग राहत र उद्धार कार्यको नेतृत्व गरिरहेका छन् ।”
“यद्यपि, कर्नल हर्षवर्धनको युनिट पनि भारी वर्षाबाट प्रभावित भएको छ र त्यहाका नौ जना सैनिक अझै पनि बेपत्ता छन् । हर्षिलको सेनाको शिविरमा पानी पसेपछि यी भारतीय सेनाका सैनिकहरू बेपत्ता भएका थिए ।”
उहाँका अनुसार शिविरमा पानी पसेपछि जम्मा ११ सैनिक बेपत्ता भएका थिए, तर पछि दुई सैनिक सुरक्षित फेला परेका थिए । बाँकी नौ सैनिक अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।
मनीष श्रीवास्तवले भन्नुभयोे, “भारतीय सेनाको यो टोली नागरिकहरूको उद्धार कार्यमा लगनशीलताका साथ संलग्न छ । यो टोलीले अहिलेसम्म २० जनालाई सुरक्षित रूपमा उद्धार गरेको छ । राहत कार्यलाई तीव्र बनाउन थप सेना पनि पठाइँदैछ ।”
















