गौर,पूर्वाधार विकास कार्यालय गौरमा चार दिन अघि तालाबन्दी गरेका नेपाली कांग्रेसका नेताहरूले आइतवार सहमतिपछि ताला खोलेका छन् ।प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतवार बिहान बसेको सर्वपक्षीय बैठकमा सहमति जुटेपछि ताला खोलिएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति सुनिलकुमार यादव ‘जितेन्द्र’को अगुवाइमा गएका कांग्रेसका नेता कार्यकर्ताले पूर्वाधार कार्यालयमा लगाइएको ताला खोलेका हुन् ।जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहान बसेको सर्वपक्षीय बैठकले एमाले केन्द्रीय सदस्य अजयकुमार गुप्ता, कांग्रेस जिल्ला सभापति जितेन्द्र र पूर्वाधार कार्यालयका प्रमुख बिनोदकुमार ठाकुरसहित तीन सदस्यीय समिति गठन गरेको छ ।
उक्त समितिले मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवसँग वार्ता गरी सहमति अनुसार विकास बजेट सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी पूर्वाधार कार्यालयका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिनुभयो ।
यसअघि योजनाकै लागि प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता तथा कार्यकर्ताहरूले पूर्वाधार कार्यालयमा गत बुधवार भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी गरेका थिए ।तालाबन्दीको भोलिपल्ट बिहीवार जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादवलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस जिल्ला सभापति जितेन्द्रले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न माग गर्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०८०÷०८१ मा रातो कितावमा रहेका मधेस प्रदेश सरकार मार्फत यस जिल्लामा परेको योजनाहरू पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनु अघि कमिशन लिइरहेको आरोप लगाउनुभएको थियो ।उता भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख विनोदकुमार ठाकुरले कांग्रेसले लगाएको सम्पूर्ण आरोपको खण्डन गर्नुभएको छ । उहाँले कसैको काम गरेबापत एक टुक्रा सुपारी खाएको भए पनि पुष्टि गर्न कांग्रेस पक्षलाई चुनौती दिनुभएको छ ।



















