काठमाण्डौ – तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आइतवार दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटन सत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो ।
सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गर्नुभएको हो ।
त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस भारतबीच सम्झौता भएको हो ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै क्षेत्रहरूमा लगानी सम्भावना रहेकाले नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताउनुभएको छ । लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको सम्भावना रहेको बताउनुभयो ।नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै उहाँले लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिनसक्ने उहाँले बताउनुभयो । देशमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घले निरन्तर पहल गरिरहेको पनि उहाँले बताउनुभयो ।

















