रौतहट,रौतहटको चन्द्रपुरमा ब्लड बैक स्थापनाको लागि मंगलवारबाट भवन निर्माण कार्यको शुभारम्भ भएको छ ।
चन्द्रपुर नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रनिगाहपुरले भवन निर्माण कार्यको थालनी गरेको हो । चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले भवन निर्माणको शुभारम्भ गर्नुहुदै चन्द्रपुरमा ब्लड बैकको आवश्यकतालाई मध्यनजर गर्दै भवन निर्माण थालिएको बताउनुभयो ।

रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले परोपकारी कार्य स्वरुप ब्लड बैक स्थापना गर्न भवन निर्माण थालिएको उहाँको भनाई थियो ।चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा ब्लड बैकको भवन निर्माण हुन लागेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष निलहरी कोइरालाले चन्द्रपुरमा रगतको आवश्यकतालाई बढदै गएको अवस्थामा ब्लड बैकको लागि कार्य थालनी हुनु आफैमा गौरवको विषय रहेको बताउनुभयो ।

भवन निर्माण कार्य समयमै सम्पन्न गरी ब्लड बैक संचालनमा ल्याएमा यस भेग लगायत छिमेकी जिल्लाका रगत पीडितहरुको उद्धार हुने उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी उपशाखा चन्द्रनिगाहपुरका अध्यक्ष कृष्णप्रसाद अधिकारीले मानवीय सेवा कार्य अन्तर्गत ब्लड बैक स्थापना र चाडै संचालन गर्न चन्द्रपुर नगरपालिकाको सहयोग रहेको बताउनुभयो ।

Leave a Reply