कतार विश्वको सानो तर निकै महत्वपूर्ण देश हो । त्यो देशमा राजाको शासन रहेको कुरा त मंगलवार कतारका राजा नेपाल भ्रमणमा आएपछि नै पुष्टी भएको छ ।कतार राजतन्त्रात्मक देश भएपनि नेपाल भने गणतन्त्रात्मक देश हो । गणतन्त्र ल्याउनका लागि नेपालमा भने हजारौंको बलिदान भएको छ त्यो पनि अहिलेका सरकारका नेतृत्वकर्ताबाट नै । संसारका मजदुर एक हौं भनेर नारा लगाउने र बिश्वमा राजतन्त्रको अन्त्यको गीत गाउने माओवादीको नेतृत्वको सरकारको राजाप्रतिको चाकडी मंगलवार नै उजागर भएको छ ।

हो, कोही पनि व्यक्ति अतिथि बनेर आएपछि उसको स्वागत र सम्मान गर्नु आयोजकको दायित्व नै हो । कतारका राजा नेपाल आउनु र उहाँलाई सरकारी तवरबाट सम्मान गर्नु नराम्रो कुरा होइन तर गणतन्त्रवादी भनिएका दलहरुको शैली भने अचम्मको छ । राजाको विरोध गर्ने अनि कही कतैको राजा आउदाखेरि सार्वजनिक बिदा दिनु पनि गणतन्त्रको उपहास हो । बिदासंग राजाको भ्रमणको अर्थ पनि छैन र सरोकार पनि छैन । यसले राजसंस्थाप्रतिको दलहरुको लगाव यसै पनि प्रष्ट हुन्छ ।
यो सरकारको कमजोरी नै हो । यसको समीक्षा त हुदै जाला तैपनि कतारका राजा नेपालमा आउनु चैं फेरि राम्रो पक्ष हो । कतार पनि नेपालीहरुको कमाउने स्थान नै हो । धेरै नेपालीहरु कमाउनका लागि कतार पनि गएका छन् । त्यसैले पनि दुई दिन नेपाल बस्ने क्रममा कतारका राजालाई खुसी पारेर फाइदा भने लिन सक्नुपर्दछ । नत्र यो चाकडीको अर्थ छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here