पुष्पराज खतिवडा
बारा,सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा प्रतियोगिता हुने भएको हो । क्लबले शनीवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्र्स फुटबल एकेडेमी र आयोजक क्लब गरी ८ टिमको सहभागिता रहनेछ । रात्री समयमा हुने प्रतियोगिता सिमरा रंगशालामा सञ्चालन हुनेछ ।प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवद्र्धनका लागि यस पटकदेखि महिला फुटबल प्रतियोगिता सुरु गरेको हो । क्लब अध्यक्ष राजकपुर राउतले प्रतियोगितालाई नियमित रुपमा संचालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । ‘पछिल्लो समय महिला फुटबलप्रति बढ्दो आकर्षण देखिएको छ, यसले अझै ऊर्जा दिनेछ’ उहाँले भन्नुभयो । लामाले सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।

Leave a Reply